हेटौंडा । हेटौंडामा विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाईएको छ । ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरेर दिवस मनाइएको हो । सुर्तीजन्य पदार्थको प्रयोग गरेमा पर्ने असरका विषयमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।

धुवाँ आउने र नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरुले सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो ।

विश्वमा हरेक ८ सेकेन्डमा एक जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण ज्यान जाने गर्छ । चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै स्वास्थ्यका लागि हानिकारक छ भनेर उल्लेख गरिएको हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका एक अर्ब ३० करोड सेवनकर्तामध्ये ८० प्रतिशत मध्यम आय भएका देशका नागरिक छन् । बर्सेनि आठ लाखको ज्यान जाने गरेको छ । सुर्तीजन्य पदार्थ सेवनकै कारण सन् २०३० सम्ममा एक करोड भन्दा धेरैको ज्यान जाने अनुमान छ ।

नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो । नेपालमा पछिल्लो समय सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन हुन सकेको छैन ।