हेटौंडा । १२ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा एकल महिलाबारे सामुहिक गीत कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।

दातृ निकाय पूर्वे उष्ट्रोको आर्थिक सहयोगमा मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरकी उपाध्यक्ष शान्ता बिकको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुहकी बागमती प्रदेश अध्यक्ष देवकी पौडेलको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मेयर लामा, जिल्ला समन्वय समिति मकवानपुरकी नव निर्वाचित सदस्य विष्णुमायाँ थपलिया, सुनिता दर्नाल परियार, हेटौंडा ११ की वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य विकास नेपाल लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुहकी बागमती प्रदेश उपाध्यक्ष रुकु अधिकारी, हेटौंडा १६ की वडा सचिव सरला बानियाँ, हेटौंडा १० की उद्यमी अविता श्रेष्ठ, शिक्षक ईन्दिरा लुईटेल लगायतले मन्तव्य व्यक्त गरे ।

कल्पना सुवेदी, अप्सरा अर्याल, जुनकिरी पुडाशैनी लगायतले एकल महिलाको दुःख, पीडा र समस्याबारे सामुहिक गीत प्रस्तुत गरेको कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरकी सल्लाहकार निलम बजगाईं देवकोटाले सहजिकरण गरेकी थिइन ।