हेटौंडा । ५४ वर्षीय कृष्ण खतिवडा अहिले फोहोर व्यवस्थापनका लागि मेसिन निर्माण गर्न व्यस्त छन् । जापानी वैज्ञानिकसँग मिलेर उनको कारखानामा बनाइएको यामातो अल्टनेटिभ रिनुएवल इनर्जी फर्म वेस्ट मेसिनले नाम अनुसार फोहोरबाट नविकरणीय उर्जाको उत्पादन गर्छ । लामो अनुसन्धान गर्दै विकास गरिएको यो मेसिनले फोहोरबाट डिजेलको सट्टा प्रयोग हुन सक्ने सिन ग्यास (सेन्थेसिस ग्यास– हाइड्रोजन, कार्बन मोनोअक्साइड र केही कार्बनडाइअक्साइडको मिश्रण भएको इन्धन ग्यास), प्राङ्गारिक मल, क्लिङ्कर र ब्रिकेट कोइलाको उत्पादन गर्छ ।

२०४८ सालदेखि नै हेटौंडाको औद्योगिक क्षेत्रमा अण्डाको क्रेट उद्योग चलाएका थिए । त्यसो त मेसिनरी पार्ट्स बनाउन उनी पहिले देखिनै लगनशील रहे । उनले भने– “२०५२ सालदेखि मेसिनरी पार्ट्स बनाउने गरेको थिएँ । त्यो बेला देखिनै हेटौंडाको अन्य उद्योगहरूका लागि विभिन्न मेशिनरी पार्ट्स निर्माण गरेर बेच्ने काम गरेको थिए ।”

हेटौंडा औद्योगिक क्षेत्रमा क्रिष्टल पाइप भन्ने उद्योग चलाएको पनि उनले स्मरण गरे । खतिवडाको धर्मपत्नी गम्भीर रोगबाट पीडित भईन् । पत्नीको उपचार नेपालमा सम्भव नभएपछि २०५६ सालमा खतिवडा दम्पती बेल्जियम गए । उपचार गरेर नेपाल फर्कने उद्देश्यले गए पनि उपचारको क्रममा उतै बस्नु पर्ने भयो । अहिले पनि ६– ६ महिनामा उतै फलोअपमा जानुपर्छ । सन् २००७ बेल्जियममा नै जापानी स्टोर खोले । जापानी उपभोक्तालाई लक्षित गरेर खोलिएको स्टोर नै उनको लागि टर्निङ पोइन्ट भयो ।

जापानीहरूसँग सङ्गत गर्ने अवसर पनि जुर्योे । त्यसबाट जापानीहरूसँग राम्रो सम्बन्ध भयो । उनले भने–” म त कमर्सको विद्यार्थी हुँ तर पनि मलाई यो क्षेत्रमा धेरै लगाव छ भन्दा पनि धेरैसँग यो विषयमा छलफल भयो तर जापानीहरू यसमा उत्सुक र कामलाई पूर्णता दिनसक्ने पाइयो । २०१५ बाट यो प्रोजेक्टमा हिँडे।” यही विषय नपढे पनि धेरै खोज अनुसन्धानमा सहभागी भएको उनले सुनाए ।

प्लाष्टिकको व्यवस्थापन नगरी वातावरण नजोगिने निष्कर्ष निकालेर त्यसमा हामीले के गर्नुपर्छ भन्ने धेरै जापानी वैज्ञानिकहरूसँग छलफल भएपछि यो प्रविधि विकास गरिएको उनको अनुभव छ । “यसको लागि धेरै सूचनाहरू संकलन गरियो । सेमिनारहरूमा भाग लिइयो । धेरै कार्यक्रमहरूमा सहभागी भइयो ।” उनले भने– ” पछि हामीले “रिसर्च एण्ड डिभलपमेन्ट” लाई व्यापकरूपमा अगाडि बढायौं । पहिलो इण्डोनेसिया, इण्डियाको गान्धीनगरमा पनि “रिसर्च एण्ड डिभलपमेन्ट”का विभिन्न चरणका काम गरियो।”

सुरुमा एउटा मेसिन जापानमा निर्माण गरियो । त्यो मेसिन जापानी वैज्ञानिकले निर्माण गरे । उनीसँगै बसेर धेरै काम गरियो । त्यसपछि फिलिपिन्समा सञ्चालन गरिएको थियो । त्यसको अपडेट भर्सन मकवानपुरको मनहरी गाउँपालिकाको खरंगामा ५२ कठ्ठा क्षेत्रफलमा चलाएको उनले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा जम्मा ७ कठ्ठामा मात्र चलाएको छ । यो क्षेत्रमा सारेको केही समय मात्र भयो ।

नेपाल सरकारको कस्तो सहयोग रह्यो त भन्ने प्रश्नमा सरकारबाट सहयोग त पाइएन पाइएन प्रोत्साहन पनि नपाएको दुखेसो गरे । विदेश पठाउन नमिल्ने क्याटगोरीमा मेसिनरी पार्ट्स पनि राखिएको रहेछ । सरकारका विभिन्न तहमा कुराकानी भए पनि यसको बारेमा निष्कर्ष ननिक्लिएको उनले बताए । नेपालका तीनै तहका सरकारसँग छलफल भए धेरै प्रिजेन्टेसन पनि भए कुरा सकारात्मक भए तर कामचाहिँ सकारात्मक नभएपछि अहिले आफूले भन्न छोडेको बताए ।

जापानी साझेदारहरूसँग सल्लाह गरेपछि अब नेपालमा रिसर्च एण्ड डिभलभमेन्ट मात्र गर्ने बाँकी काम जापानमा नै गर्ने र आवश्यक पार्ट्सहरू इण्डियामा बनाउने योजना अगाडि सर्यो ।

कोभिडले गरेर थोरै मात्र मेसिन बनाइएको उनले बताए । ४ वटा मात्र बनाएको छ । प्रविधिको विकास गरिएकाले इन्डोनेसिया, फिलिपिन्स, हेटौंडामा मेसिन निर्माण भएका छन्। यसको अत्याधुनिक अपग्रेड भर्सन जापानमा रहेको उनले सुनाए ।

हाल चिन, इटाली, जर्मनी र इण्डियाबाट सामग्री ल्याउने गरिएको र जापानबाटै तालिम गराएको कामदारहरूले काम गरिरहेका छन् । त्यसो त अहिले बैकले लगानी गर्न रोकेकाले उद्योग क्षेत्रमा असर परेको उनको भनाई छ । कुनै क्षेत्रबाट पनि सहयोग भएन । काठमाडौं देखि नेपालको हरेक क्षेत्रमा समस्या छ तर यसमा ठोसरूपमा यसबारे कसैले चासो नदेखाएको पनि उनको आरोप छ । “अहिले पनि जापानले सहयोग गर्छ, शहरी विकास मन्त्रालयले चिठी लेख्या छ परराष्ट्र मन्त्रालय हुँदै राजदूतावास मार्फत जापान पुग्नुपर्ने अहिलेसम्म पुगेको छैन १० महिना भयो, अनि कसरी काम अगाडि बढ्छ”, उनको प्रश्न छ ।

नेपालका मुख्य शहरहरूमा निःशुल्क दिने भन्ने थियो तर चिठी नपुग्दा रोकिएको उनको भनाइ छ । मेसिन निर्माणका लागि ३ महिना लाग्ने उनले जानकारी दिए ।

काठमाडौं उपत्यकाको फोहोरको समस्या समाधान हुने उनको भनाइ छ । यो भन्दा पहिला काठमाडौंका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले पनि यस विषयमा चासो देखाएका थिए । उनले यो मेसिन राख्न अत्यधिक चाहेको पनि बताए तर त्यतिवेला उनको भन्दापनी अन्य विभिन्न जञ्जालका कारण काम अगाडि बढ्न सकेन । कसैले किन्न खोजे यो मेसिनलाई हाल २ करोड पर्ने खतिवडाको भनाइ छ ।

स्थानीय तहले फोहोर व्यवस्थापनको जिम्मा दिएमा मेसिन जडान गरेर निःशुल्क व्यवस्थापन गरिदिने खतिवडाको भनाइ छ । फोहोर व्यवस्थापन गर्दा सिन ग्यास, प्राङ्गारिक मल, क्लिङ्कर तथा ब्रिकेट कोइला निस्कने भएका कारण पनि निःशुल्क फोहोर व्यवस्थापन गर्न सहज हुने उनले बताए ।

मेसिनले फोहोरबाट शुद्ध हावामात्र वायुमण्डलमा छोड्छ । मेसिनले एक घण्टामा दुई टन फोहोर व्यवस्थापन गर्ने र उक्त प्रक्रियाबाट ०.५ देखि १ मेगावाटसम्म विद्युत् उत्पादन हुने गरी सिन ग्यास उत्पादन हुने खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार कुहिने फोहोरबाट कोइला तथा प्राङ्गारिक मल बन्ने र नकुहिने फोहोरबाट भने क्लिङ्कर निस्कन्छ । मेसिनभित्र जडान भएका सिस्टमले उचित तापक्रम मिलाएर फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै हुने दाबी उनको छ। ” प्लाष्टिकजन्य फोहोरलाई जलाउने प्रविधि प्रयोग गरेर नष्ट गरेको पनि देखेका छौँ तर यो वातावरण मैत्री छैन तर हामीले रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री छ। ”

नेपालमा फोहोर व्यवस्थापनको चुनौती दिन दिनै बढेको भन्दै कृष्ण खतिवडाले भने–” फोहोरसँगै स्थान र सुरक्षाको ग्यारेन्टी दिनुस्, हामी निःशुल्क फोहोर व्यवस्थापन गर्छौं ।”
साभारः आइएनएस–स्वतन्त्र समाचार/प्रकाश दाहाल हेटौंडा