हेटौंडा । मकवानपुरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रक्रिया सञ्चालन गर्न तीन हजार ८५० जना कर्मचारी खटाइने बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मकवानपुरको ३६४ मतदान केन्द्रमा सुरक्षाबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसमेत गरी तीन हजार ८५० जना कर्मचारी खटाइने कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।

निर्वाचनमा खटाइने कर्मचारीको नामावली संकलनको कार्य भइरहेको र कार्तिक ३० गतेभित्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सो नामावली उपलब्ध गराइने उनले बताए ।

जिल्लाको क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १६२ वटा मतदान केन्द्र रहेको छ भने क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थल र १९२ वटा मतदान केन्द्र गरी ३६४ वटा मतदान केन्द्र तोकिएको छ ।

मकवानपुरमा तीन लाख ७३३ मतदाता संख्या रहेका छन् । जसमध्ये क्षेत्र नं. १ मा एक लाख ५० हजार १५५ जना र क्षेत्र नं. २ मा १ लाख ५० हजार ५७८ जना छन् ।
अन्नपूर्ण पोष्टबाट