हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार, शिक्षासेवी कौशल पाण्डेको निधन भएको छ । हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडास्थित निवासमा बुधबार अपराह्न उनको निधन भएको हो ।

७५ वर्षका पाण्डेको लिभर सिरोसिको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यका अनुसार तर, पछिल्लो केही सातादेखि स्वास्थ्यअवस्था जटिल बनेको थियो ।

मकवानपुरको पत्रकारिता विकासमा पाण्डेको विशेष योगदान रहेको थियो । उनी हेटौंडामा धेरै वर्ष शिक्षण पेशामा पनि आवद्ध रहेका थिए । हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा लामो समय अध्यापन गरेका पाण्डे अवकास पाएपछि पूर्ण रूपमा पत्रकारितामा सक्रिय थिए ।