हेटौंडा । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएपछि बिरगंजका युवाहरुले महाविर पुनलाई साथ दिएका छन् ।
परिर्वतन नेपाल फाउण्डेशनका युवाहरुले आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले संचालनमा ल्याउन लागेको कृषि औजार कारखानालाई संचालन गर्न पहिलो चरणमा सरसफाई अभियानका लागि साथ दिएका हुन् । बिरगंजमा महाविर पुनको नेतृत्वमा युवाहरु मिलेर सरसफाई गरेका थिए । आजदेखि सुरु भएको सरसफाई अभियानमा सम्पूर्ण बिरगंजबासीहरुलाई सहभागि हुन परिर्वतन नेपाल फाउण्डेशनका सचिव बिशेष साहले आग्रह गरे ।
करिब तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिइएको थियो । आर्थिक बर्ष २०७९/८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालन गरिने घोषणाअनुसार नै आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा दिइएको हो ।
सम्झौताअनुसार आविष्कार केन्द्रले कारखानाको सञ्चालन जिम्मा १० वर्षका लागि पाएको छ । योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरण लगायतका कामसहित आविष्कार केन्द्रले १० वर्षसम्म सञ्चालनको जिम्मा पाएको हो । कारखानाको मर्मत सम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था पहिलो पटक सरकारले गर्नेछ । यस्तै आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम समेत सञ्चालन गरी जनशक्ति उत्पादन एवम् आधुनिक कृषि औजार उत्पादन तथा बिक्री गर्न पाउनेछ । औजार बिक्रीबाट कर पश्चातको रकमको ५० प्रतिशत ‘राष्ट्रिय आविष्कार केन्द्र कोष’ खडा गरी त्यहाँ रहनेछ भने बाँकी ५० प्रतिशत वार्षिक रूपमा नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्नेछ ।












प्रतिक्रिया दिनुहोस्