धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेशमा क्रियाशिल पत्रकारका लागि पहिलो पटक डाटा ड्रिभन पत्रकारिता तालिम सुरु भएको छ । सञ्चार रजिष्ट्रार कार्यालय हेटौंडा मकवानपुरको आयोजनामा तालिम भएको हो । आजदेखि सुरु भएको तालिम पाँच दिन सम्म संचालन हुने छ ।

बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नका लागि तालिमको आयोजना गरिएको बताए । उनले तालिम लिईसकेपछि सिकेका ज्ञानलाई पत्रकारले समाजलाई पत्रकारिता क्षेत्रबाट थप योगदान गर्न टेवा पु¥याउने बिश्वास व्यक्त गरे । उनले तथ्याङ्कलाई समाचारको रुपमा पस्कन यो तालिम पत्रकारका लागि सहयोगी हुने बिश्वास व्यक्त गरे ।

तालिमको पहिलो दिन डाटा पत्रकारिताको सौद्धान्तिक र नेपालमा भएका अभ्यासबारे चर्चा गरिएको थियो । तालिमको पहिलो दिन उज्वल आचार्यले डाटा ड्रिभनको सौद्धान्तिक बिषयबारे प्रशिक्षण दिएका थिए । डाटा ड्रिभन तालिम सरकारीतवरबाट नेपालमै पहिलो पटक संचालन भएको तालिम हो ।

तालिममा बागमती प्रदेशमा रहेर अनलाइन, पत्रपत्रिका, रेडियो, टिभीमा आवद्ध रहेका पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटका पत्रकारहरुको सहभागिता रहेको थियो ।