हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सञ्चार माध्यमको भूमिका र आचारसंहितबारे आइतबार हेटौंडामा छलफल भएको छ ।

नेपाल पत्रकार महासंघ अन्तर्गतको फ्रि मिडिया नेटवर्कको आयोजनामा छलफल कार्यक्रम भएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्कालगायतको उपस्थितिमा आसन्न निर्वाचनमा पत्रकार, नागरिक समाज, प्रहरी, प्रशासन र निर्वाचन अधिकृत कार्यालयको भूमिकाबारे छलफल भएको थियो ।

छलफललाई सम्बोधन गर्दै महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाली सञ्चार माध्यम र सञ्चारकर्मी सदैव जिम्मेवार भएर प्रस्तुत भइरहेको र निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगबाट सम्पन्न गर्न, गराउन सञ्चार माध्यम जिम्मेवार रहेको दावी गरे । निर्वाचन आयोगले तयार पारेको आचारसंहिता मिडियामैत्री हुन नसकेको, निर्वाचनकै प्रक्रियालाई पनि पारदर्शी बनाउनेतर्फ जिम्मेवार नभएको टिप्पणी गरे ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले मकवानपुर जिल्लामा निर्वाचनको गतिविधि सौहाद्र्ध वातावरणमा भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम जिम्मेवार भएर प्रस्तुत हुँदा अझै सहज हुने बताए । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले मिडियालाई सहजरुपमा सूचना संकलन र सप्रेषणका लागि स्थानीय प्रशासनले आवश्यक सहयोग गर्ने बताए ।

छलफलमा सहभागी सञ्चारकर्मीले निर्वाचन अधिकृतको कार्यालय मिडियामैत्री हुनुपर्ने सुझाव दिएका छन् । मिडियालाई सहज वातावरणमा सूचना संकलन र सम्प्रेषणको वातावरण बनाउन निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन र प्रहरीका अधिकारी जिम्मेवार हुनुपर्नेमा सञ्चारकर्मीले जोड दिएका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको हो ।