हेटौंडा । नेपाल सरकारले संचालनमा ल्याएको नागरिक एपमा पत्रकार परिचयपत्र (पत्रकार पास) हेर्न मिल्ने भएको छ । पत्रकार परिचयपत्रको नम्बर राखेपछि कार्यालयको प्रकार छनौट गरेर एपमा पत्रकार परिचयपत्र हेर्न मिल्ने भएको हो ।

सूचना तथा प्रसारण विभाग र सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशबाट लिइएको पत्रकार परिचयपत्र नागरिक एप मार्फत हेर्न मिल्ने भएको छ । नेपाल सरकारले नागरिक एप संचालनमा ल्याएपछि पत्रकार पास हेर्न मिल्ने अप्सन राखिएपनि अपडेट नहुँदा परिचयपत्र त्रृटि मात्रै आउने गरेको थियो । बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती सापकोटाको पहलमा नेपाल सरकारले एप मार्फत पत्रकार परिचयपत्र अपडेट गरेपछि अहिले एप मार्फत हेर्न मिल्ने भएको छ ।

पत्रकार परिचयपत्र हेर्नका लागि नागरिक एप डाउनलोड गर्नु पर्नेछ । नागरिक एपलाई अपडेट गर्नु पर्नेछ । अपडेट गर्दा एपको वन पोइन्ट सिक्स पोइन्ट टु भर्जन अपडेट हुनेछ । नागरिक एपमा पत्रकार पास भन्ने आइकनमा क्लिक गर्नु पर्नेछ । पत्रकार परिचयपत्र नम्बर राख्नु पर्नेछ । जन्ममिति मागेमा त्यो पनि राख्नु पर्नेछ । सूचना तथा प्रसारण बिभाग वा सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेश मध्ये कहाँबाट परिचयपत्र लिएको हो सोही कार्यालय छनौट गरी पेश गरेपछि परिचय पत्र देखिनेछ । परिचयपत्र डाउनलोडन गरेपछि नेपाली र अंग्रेजी दुवै पट्टीको परिचय पत्र हेर्न मिल्छ ।

नागरिक एपमा सवारी चालक अनुमति पत्र, स्थायी लेखा नं., प्रहरी चारित्रिक प्रमाणपत्र, सवारी कर, नेपाल प्रहरी, मालपोत, स्वास्थ्य बिमा बोर्ड, मेरो पालिका, कोभिड खोप, शैक्षिक विवरण, नागरिक लगानी कोष, कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोष, मेरो गुनासो, नागरिकता, राहदानी, मतदाता परिचयपत्र, पत्रकार पास, लोक सेवा, वैदेशिक रोजगार बिभाग, एनओसी, विदेशी मुद्रा, प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपाल बिद्युत प्राधिकरण, मौसम पूर्वानुमान र काठमाडौं उपत्यका खानेपानी लि.को सेवालाई समेटिएको छ ।