हेटौंडा । हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अभि मैनाली निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवार राजिव फुयाँललाई पराजित गर्दै अनेरास्ववियुका मैनाली अध्यक्षमा निर्वाचित भएका हुन् । स्ववियुमा मैनालीको प्यानलै विजयी भएको छ ।

अध्यक्षमा विजयी मैनालीले २ सय ९० मत पाउँदा पराजित उम्मेदवार फुयाँलले १ सय ८५ मत पाए । सचिवमा अनेरास्ववियुका अन्जान खड्काले २ सय ७२ मत पाउँदा नेविसंघका युवराज बिकले १ सय ९४ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुकी अविना खड्काले २ सय ७० मत पाउँदा नेविसंघकी ज्योेति पुडासैनीले १ सय ९६ मत पाइन् । सदस्यमा तिलकबहादुर पाख्रिन, गणेश तिमल्सिना, नवीन कुमार चौधरी, भरतमोहन देवकोटा र रञ्जिता फुयाँल निर्वाचित भएका छन् ।
८ सय ९७ मतदाता रहेको हेटौंडा क्याम्पसमा ४ सय ७७ मत खसेको थियो ।