काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन । सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन ।

विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा कुल २६२ जनाको उपस्थिति थियो । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको पक्ष र विपक्षमा भएको मत विभाजनको परिणाम सार्वजनिक गरे ।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पश्चात् प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भए । सरकार गठनपछि पहिलो पटक विश्वासको मत लिने क्रममा पुस २६ गते प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक बहुमत प्राप्त गरे । पहिलो पटक उनले प्रतिनिधि सभाको कुल सदस्य दुई सय ७५ मध्ये पक्षमा दुई सय ६८ मत पाए ।