हेटौंडा । हेटौंडा–५, पिप्ले क्याम्पा रंगशालामा दोस्रो विजय यूथ गोल्डकप हुने भएको छ । प्रतियोगिताबारे आयोजक विजय यूथ क्लवले शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । प्रतियोगिता असार ५ गतेदेखि १५ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा मकवानपुर जिल्लाका १६ वटा क्रियाशिल फुटबल क्लबले सहभागिता जनाउने विजय यूथ क्लबका अध्यक्ष सुदिप राजबहाकले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाख ट्रफि, मेडल र प्रमाण पत्र र उपविजेताले नगद १ लाख पाउने छन् । त्यस्तै प्रतियोगितामा सर्वोउत्कृष्ट हुने खेलाडीले ५ लाख बराबरको जीवन बिमा प्राप्त गर्नेछन् ।
यसैगरी विधागत रुपमा उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकले जनही ५\५ हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान आफ द म्याचलाई पनि नगदको पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी, विजय यूथ क्लव, हटिया भेट्रान्स क्लव, ढल्केजोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लव, एफसी विजय यूथ, अग्रसर यूथ क्लव, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक यूथ क्लव, चौकीटोल यूथ क्लव, पशुपति युवा क्लव, हेटौंडा फुटबल एकेडेमी ए को सहभागिता रहनेछ ।
दश दिनसम्म प्रतियोगिता सञ्चालन गर्नका लागि १३ लाख खर्च लाग्ने अध्यक्ष राजवहाकले बताए । उद्घाटन खेल एफसी विजय युथ र अग्रसर यूथ क्लवको बीचमा हुनेछ । क्लबले तीन बर्षअघि पहिलो पटक प्रतियोगिता आयोजना गरेको थियो । त्यो पहिलो संस्करणको उपाधि आयोजक क्बल विजय यूथले नै जितेको थियो ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, बागमती फुटबल संघका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ, कृष्णा ढुंगाना, दिपेन्द्र ढकाल लगायतको उपस्थित रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्