हेटौंडा । हेटौंडाको सडक विस्तारको लागि राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवालाहरु सकारात्मक देखिएका छन् । गत असार १० गते डिभिजन सडक कार्यालय हेटौंडाले ३५ दिनको सूचना जारी गरेपछि सडक विस्तारको विषयमा भएको छलफलमा सरोकारवाला निकायहरु सकारात्मक देखिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा हेटौंडाको सडक विस्तार गर्नुपर्नेमा जोड दिनेहरु बहुमत देखिएका थिए । पक्ष र विपक्षमा चर्को वहस भएको थियो । मकवानपुरमा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले राखेको सवैपक्षिय छलफलमा सडक विस्तारका सम्बन्धमा चर्काचर्की परेको थियो ।

२५ गजको विषयको बारेमा राखेको सर्बपक्षिय बैठकमा प्रदेशसभा सदस्य, मकवानपुर उद्योग वाणिज्य संघ, राजनीतिक दलका नेतृत्व, प्रहरी प्रशानस, सरोकारवाला घरधनी, हेटौंडा उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख सहितको उपस्थिती रहेको थियो ।

बैठकको प्रारम्भका डिभिजन सडक कार्यालय हेटौंडाका डिभिजन प्रमुख राजेश कुमार यादवले असार १० गते प्रकाशन भएको सूचनाको विषयमा जानकारी गराउँदै यो पटक हेटौंडाका घरधनिको माग अनुसार सरकारले २५ मिटरलाई घटाएर २५ गतज मात्र बनाएको बताएका थिए । उनले साउन १६ सम्म आफुहरुको सूचनालाई वेवास्ता गरिए कानुनी तबरबाट अतिक्रमित घर टहरा हटाउने बताए ।