हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान संचालन गर्ने भएको छ । अभियान संचालन गर्नका लागि उपमहानगरपालिकाले अल्पकालिन रुपमा चार जना ‘भेट्रो निरीक्षक’ नियुक्त गर्ने निर्णय गरेको हो । उपमहानगरले नगरका १९ वटै वडाहरुमा डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि कर्मचारी नियुक्त गरेर काम अगाडि बढाउन लागेको छ ।

उपमहानगरभित्र भेट्रो निरीक्षक डेङ्गुको संभावित स्थानको खोजि गर्ने र नष्ट गर्ने काममा परिचालन हुने हेटौंडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । डेङ्गुको नियन्त्रणका लागि प्राविधिक जनशक्ति आवश्यक छ, प्रवक्ता न्यौपानेले भने “विभिन्न समयमा औषधि छर्न र प्रभावकारी रुपमा डेङ्गु नियन्त्रण अभियानलाई अगाडि बढाउन ‘भेट्रो निरीक्षक’ नियुक्त गर्न लागिएको हो ।” फिल्डमा खटिएका निरीक्षकले संक्रमणको आंकलन गरेको स्थान सहित संभावित ठाउँहरुमा स्प्रे गर्ने, संक्रमणमा परेका बिरामीको परिक्षणका लागि किट खरिद गर्ने र संक्रमणको खोज र नष्ट गर्नका लागि स्वास्थ्य स्वयम् सेविका सहित टोल विकास संस्थालाई परिचालन गरिने निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको स्थानिय विपद् व्यवस्थापन समितिको बैठकले रोगको संक्रमण नियन्त्रणका लागि निरीक्षक नियुक्त गरेरै कम अघि बढाउने निर्णय गरेको थियो ।

चालु आर्थिक बर्षको साउन महिनामा हेटांैडा नगरभित्रै ५ जनामा डेङ्गु संङ्क्रमण पुष्टि भईसकेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए । अघिल्लो आवमा मकवानपुरमा जिल्लामा ५ हजार ८६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो जसमध्ये हेटौंडा उपमहानगरभित्र मात्रै ७४ प्रतिशत अर्थात ४ हजार ३४३ जनामा डेङ्गु पुष्टि भएको थियो । अघिल्लो आवमा साउन महिनामा डेङ्गुका रोगीको संख्या शुन्य थियो, उनले भने “अहिले साउनमै ५ जनामा डेङ्गु पुष्टि भईसक्यो, बेलैमा नियन्त्रणको प्रयास नथालिए यसपालि भयाभह अवस्था सिर्जना हुन सक्छ ।” गत आवमा भदौं, असोज र कात्र्तिक महिनामा डेङ्गु सङ्क्रमण उच्च भएको थियो ।

उपमहानगरले डेङ्गु नियन्त्रणका लागि काम गर्न स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटी मकवानपुरसँग सहकार्य गरेर नगर क्षेत्रमा अभियान सञ्चालन गर्ने छ । रोगको नियन्त्रणका लागि नागरिक आफै सचेत हुन जरुरी रहेको भन्दै हिडडुलका समयमा ध्यान दिन उपमहानगरले नगरवासीलाई आग्रह गरेको छ ।