दुर्घटनामा घाइते भारतको राजस्थान बस्ने ७२ बर्षीय सुरेस चन्द्र चक्रवती सहितको अवस्था बारे हेटौँडा अस्पताल पुगेर जानकारी लिर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई । तस्विर:अनिल पराजुली
दुर्घटनामा घाइते भारतको राजस्थान बस्ने ७२ बर्षीय सुरेस चन्द्र चक्रवती सहितको अवस्था बारे हेटौँडा अस्पताल पुगेर जानकारी लिर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई । तस्विर:अनिल पराजुली

हेटौंडा । मकवानपुर र बाराको सीमानजिक बाराको जितपुर–सिमरा उपमहानगरपालिका– २२ चुरियामाईमा बिहीबार बिहान २ बजेतिर तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

प्रहरी उपरीक्षक रिजालका अनुसार मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षका बहादुर सिंह, सोही स्थानकी ६५ वर्षीया मीरा देवी, बैजन्ती देवी, श्रीकान्त चतुर्वेदी, सत्यवती र राजेन्द्र चतुर्वेदी रहेका छन् ।

यस्तै, नेपालको महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाका ४१ वर्षका विजयलाल पण्डितको पनि मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १७ जनामध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।

उनका अनुसार घाइते एकजनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । यस्तै, एकजनाको हेटौँडास्थित चुरेहिल अस्पताल, एकजना सन्चो अस्पताल र बाँकी १४ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आफैँ अनियन्त्रित भई चुरियामाईभन्दा अन्दाजी एक सय मिटर दक्षिणमा बाटोबाट दश–पन्ध्र मिटर तल खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

दुर्घटना भएको बसमा २७ जना यात्रु रहेको इलाका प्रहरी कार्यलय सिमराका डिएसपी क्षेत्रीको भनाइ छ । दुर्घटनापछि फरार रहेका बसका चालकलाई नियन्त्रणमा लिएको डिएसपी क्षेत्रीले बताए। नयाँ पत्रिकाबाट