हेटौंडा । हेटौंडा उपमहानगर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि ओमनगर क्रिकेट क्लवले जितेको छ । हेटौँडा–४ हुप्रचौर खेलमैदानमा सोमवार भएको फाइनल खेलमा मकवानपुर क्रिकेट क्लवलाई एक विकेटले पराजित गर्दै ओमनगर क्रिकेट क्लवले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ्ग रोजेको मकवानपुर क्रिकेट क्लव १८ औं ओभरमा ७५ रन बनाएर अल आउट भएको थियो । मकवानपुर क्रिकेट क्लवका लागि आत्मराम उपाध्यले १६ रन, रिजन ढकालले १३ रन र सुमन सुनारले ११ रनको योगदान गरे भने ज्ञानिस सिंह र प्युस शर्माले ३/३ विकेट लिए ।

ओम नगर क्रिकेट क्लवले १८ ओभरमा ९ विकेट गुमाउँदै एक विकेटले जित हासिल गरेको थियो । ज्ञानिस सिंहले १७ रन र प्यूस शर्माले १० रनको योगदान गरेको प्रतियोगितामा रिजन ढकालले ४ र रामनशेर गिरीले ३ विकेट लिनुभएको थियो ।

प्रतियोगिताको उपाधि विजेता ओम नगर क्रिकेट क्लवले नगद एक लाख रुपैयाँ र उपविजेता मकवानपुर क्रिकेट क्लवले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा म्यान अफ द म्याच ओम नगर क्रिकेट क्लवका ज्ञानिस सिंह, उत्कृष्ट बलर रिजन ढकाल, ब्याट्स म्यान सुमन सुनार, उदयमान खेलाडी गोकुल अधिकारी, उत्कृष्ट खेलाडी सुवेन्द्र पासवान घोषित भए । लिगकम नकाउट टि–२० क्रिकेट प्रतियोगिताकामा ६ वटा टिमको सहभागिता रहेको मकवानपुर क्रिकेट संघका सचिव बिनोद बानियाले जानकारी दिए ।

विजेता, उपविजेता र विधागत उत्कृष्ट खेलाडिलाई हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौँडाका शिक्षाविद् पुरन बहादुर जोशी, राष्ट्रिय खेलकुद परिषद्का सूचना अधिकारी राजन दाहाल खुसराज, मकवानपुर क्रिकेट संघका अध्यक्षमा करन महतरा क्षेत्री, उपाध्यक्षमा इश्वरप्रसाद मैनाली, क्रिकेटप्रेमी दीपेन्द्र ढकाल लगायतकाले पुरस्कार वितरण गरेका थिए । मकवानपुर क्रिकेट संघको आयोजना एवं हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता भएको थियो ।