हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भ्रष्टाचारले सामाजिक, न्यायिक र राजकीय प्रकृयाको शिलशिलेवार प्रणालिलाई समाप्त पार्दै राष्ट्र, जनता र व्यक्तिको मर्यादा, आचरण र गरिमालाई ध्वस्त पार्दैं जाने बताए । उनले भ्रष्टाचारको बहुआयमबारे जिकिर गर्दै आर्थिक र नैतिक दुबै भ्रष्टाचारको बिषय भएको स्पष्ट पारे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार वैदिक युगदेखिनै जोडिएको देखिएको बताउँदै रानी लोमाको अरण्य गमन, अजामिलको आचरण, सीता हरण, इन्द्र र चन्द्रको नैतिक पतन जस्ता थुप्रै विषयमा भ्रष्टाचार र त्यसको नियन्त्रणमा विद्रोह तथा सजाय भएका उदाहरणहरु पेश गरे ।

भ्रष्टाचारले हजारौ वर्षमा विकशित भएका सामाजिक मूल्य मान्यताहरु समाप्त पार्ने बताउँदै देशलाई खोक्रो र वाह्य शक्तिको कठपुतली बताउने उनको भनाई छ । “कानूनी राज्यको मान्यतावाट विचलित हुनु, निष्पन न्याय संपादन नहुनु र मत्स्य न्यायको प्राधान्य रहनु हाम्रो गोलार्धको विडम्बना हो,”–प्रदेश प्रम्ख शर्माले भने । कानून, नीति, र नियमहरुको पालनामा प्रयोग भएको स्वविवेकीय अधिकार दुरुपयोग हुने खतरावाट निराकरणको क्षेत्रमा लागेका विधि निर्माताहरु सचेत हुनुपर्ने उनको तर्क छ ।

राज्यको अर्थतन्त्र निर्माणमा आफ्नो योगदानवारे नागरिक अनविज्ञता तथा उदासिनता भ्रष्टाचार प्रवर्धनको कारक तत्व रहेको उनले बताए । राजस्व अपचलन गर्नेको सम्मान र संरक्षण गर्नेको अपमान हुने परिपाटि रहेसम्म भ्रष्टाचार रहिरहने उल्लेख गर्दैं समुद्रको माछाले कहिले र कति पानी खायो भन्ने प्रश्नको जवाफ जति जटील र कठिन छ एउटा भ्रष्टाचारिले जागिरे जीवनकालमा राज्यकोषको कति हिनामिना गयो भन्ने विषय त्यतिनै जटिल रहेको उनको भनाई छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन, प्रवर्धन र आर्थिक समृद्धि मार्फत राज्यको पहिचान र प्रतिष्ठालाई नेपाली समुदाय बीचमा मात्र नभै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उजिल्याउने कार्यमा राजनीतिक दल, सरकार, सरकारी संयन्त्र एवं आम नागरिकको समेत महत्वपूर्ण भूमिका हुनुपर्नेमा उनले जोडदिए । जनउत्तरदायी शासकीय अभ्यासले मात्र समग्र राष्ट्र उत्थानमा गति दिन सक्ने जिकिर गर्दै राष्ट्रिय जीवनका हरेक पक्षले आ–आफ्नो कर्तव्य र दायित्व प्रति ईमानदार तथा प्रतिवध्द हुनुपर्ने प्रदेश प्रमुख शर्माको भनाई छ ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उजुरी पर्दा मानविय त्रुटिको बिषयमा अख्तियारले ध्यान नदिदा आम जनता निराश भएको बताए । सरकार तथा व्यवस्थाप्रति जनताको वितृष्ण पनि बढ्दै गएको बताउँदै उनले सुशासनको आभास हुनेगरी काम गर्न अख्तियारलाई आग्रह गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका प्रमुख उमाकान्त आचार्यले पछिल्लो समय उजुरी गर्न सहज भएकाले अख्तियारमा विभिन्न माध्यमबाट उजरी आउनेक्रम बढेको बताए ।

स्थापना दिवको अवसरमा भएको निवन्ध प्रतियोगितामा सिन्धुपाल्चोककी राधिका विक प्रथम, काठमाडौंकी समज्ञा सापकोटा दोश्रो र भरतपुरकी प्रार्थना वेलवासे तृतिय भइन् । उनीहरुलाई नगद, प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट काम गर्ने राजन रायलाई नगद २० हजार सहित अख्तियार सेवाबाट पुरस्कृत गरिनुका साथैं उत्कृष्ट कर्मचारी, खेलकुद सप्ताहमा विजयी हुनेलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।