हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र उर्जालाई प्राथमिकता दिने बताएका छन । शुक्रवार हेटौँडामा भएको कारोबार आर्थिक बहसलाई सम्बोधन गर्दै उनले प्रदेशको नीति तथा कार्यक्रममा उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने खालका योजनालाई प्राथमिकता दिइने स्पष्ट पारे ।

समुदायमा आधारित पकेट क्षेत्रको मोडेल, पशुपालन र कृषिका लागि ६३ वटा स्थानीयतहले प्रस्ताव पेश गरिसकेको जानकारी दिर्दै मुख्यमन्त्रीले प्रदेश सरकारको पहिलो प्राथमिकतामा कृषि रहेको स्पष्ट पारे । उनले प्रदेशको एक निर्वाचन क्षेत्र एक पर्यटकीय गन्तव्य, एक निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल उद्योग स्थापना गर्ने बागमती प्रदेश सरकारको योजना रहेको बताए । लगानीको मोडेल बनाएर सरकार र व्यवसायीको संयुक्त लगानीमा काम गर्नेगरी आव्हान गरिने उनको भनाई छ ।

प्रदेश सरकारले ग्रामिण भेगमा रहेका महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यले ३५ पालिकासँग गृहणी महिला शसक्तिकरणका लागि सम्झौंता गरिसकेको जानकारी दिए । प्रसङ्ग जोड्दै चेपाङ समुदायको विकासका लागि चेपाङ, चिउरी र चमेरो कार्यक्रम ६ वटा पालिकाहरु मकवानपुरको राक्सिराङ, चितवनको कालिका, इच्छाकामना र धादिङको वेनिघाट र गजुरीमा संचालन गरिएको जानकारी दिर्दै प्रदेश सरकारले पाँच लाख चिउरीको बिरुवा रोपण गर्ने तयारी गरेको उनले बताए ।

हेटौँडा–काठमाडौँ जोड्ने चारवटा सडकको निर्माण कार्यधमाधम भइरहेको जानकारी दिर्दै सिस्नेरीको कालोपत्रे हुने काम अन्तिम चरणमा पुगेको बताए । उनले फाखेल–हुमाने भन्ज्याङ, फाखेल–हुमानेभन्ज्या–कुलेखानी, मातातिर्थ निस्कने सडकको काम भइरहेको बताउँदै उनले डेढ बर्षभित्र चारवटा सडक निर्माणपुरा गरिसक्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारको लगानीमा निर्माण भएको धुलो दुध कारखाना सरकार, सहकारी र नीजि क्षेत्र संयुक्त लगानीमा संचालन गरिने योजना रहेको बताए ।

कारोवार दैनिकका सम्पादक बालकृष्ण ज्ञवाली सभाध्यक्षतामा भएको कार्यक्रममा नीति तथा योजना आयोगका प्रा डा नरविक्रमम थापा, कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, नेपाल ट्रक व्यवसायी महासंघका केन्द्रीय सदस्य बद्री चौलागाईं, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।