हेटौंडा । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले वन भित्र अनावश्यक संरचना निर्माण नगर्न निर्देशन दिएका छन । हेटौँडा–२ स्थित वनस्खण्डी मन्दिर परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशालाको शनिवार समुद्घाटन गर्दै वन भित्र अनावश्यक रुपमा सिमेन्टबाट बनेका संरचना निर्माण नगर्न आग्रह गरेका हुन ।

प्राकृतिक सम्पदाको संरक्षण गर्दै वन तथा वातावरण क्षेत्रलाई जोगाउनेगरी मात्रै वनभित्र संरचना बन्नुपर्नेमा मन्त्रीको जोड थियो । संरचना बनाउने नाममा पुरातात्विक महत्वका संरचनालाई मास्ने भन्दा पनि संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रदेश सरकारको मन्त्री परिषद्ले गरेको निर्णय स्मरण गर्दै प्रदेशमा बन्ने संरचनामा अब स्वदेशी काठ अनिवार्य गरिएको बताए । उनले नेपालको जङ्गलमा काठहरु कुहिएर गइरहेको अवस्थामा विदेशबाट बार्षिक करिव १७ अर्वको काठ आयात भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

वनस्खण्डी मन्दिर पर्यटन विकास समिति हेटौँडा २ को आयोजना एव्म बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको ८ लाख ८९ हजार ४५१ रुपियाँ आर्थिक सहयोगमा व्यायमशाला निर्माण गरिएको हो । व्यायामशालाबाट सबैलाई लाभ लिन आग्रह गर्दै मन्त्रीले अब जिवनशैली सुधार गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय अस्वस्थ खानपानका कारण मानिसहरुले धेरै रोगको सामना गर्नुपरेको बताउँदै प्राकृतिक खानपानमा अपनाउनुपर्ने उनको भनाई छ । मान्छे स्वास्थ्य भएमात्रै राम्रोसँग काम गर्न सक्ने क्षमता हुने बताउँदै स्वास्थ्यलाइलाई विशेष ध्यान दिनुपर्ने उनको तर्क छ ।

प्रसङ्ग जोडदै प्रदेशको राजधानी हेटौँडा जोड्ने सडकहरु धमाधम निर्माण भइरहेको बताउँदै अबको एक बर्षभित्र हेटौँडा–काठमाडौँको यात्रा सहज हुने विश्वास व्यक्त गरे । निर्माण व्यवस्थापन समिति अध्यक्ष देवकी केसीको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाल र स्थानीयवासीको सहभागिता रहेको थियो ।