हेटौँडा । मकवानपुरको हेटौँडा अस्पतालमा बुधबारबाट उपचारका लागि २५ शय्यासहितको मनोचिकित्सा वार्ड सञ्चालन आएको छ।
अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड सञ्चालनमा आएको हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीधर अर्यालले जानकारी दिए।
गत असारबाट हेटौँडा अस्पतालमा एकजना मनोरोग विशेषज्ञ नियुक्त भई ओपिडीमार्फत सेवा प्रवाह गर्दै आएकोमा हाल सो सेवालाई विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवासमेत सञ्चालनमा ल्याइएको निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. अर्यालले बताए।
पछिल्लो समय मनोचिकित्सासम्बन्धी समस्याबाट पीडित व्यक्तिको संख्या बढ्दो क्रममा रहेको र सोही कारणबाट आत्महत्या गर्ने दर बढेकाले काउन्सिलिङ तथा उपचारको माध्यमबाट जोखिम न्यूनीकरणका लागि मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ।
अस्पतालले बुधबारबाट मनोचिकित्सा वार्डसहित ओपिडी सेवासमेत सञ्चालनमा ल्याएको हो। यसअघि गत माघमा उद्घाटन गरिएको सो वार्डको केही संरचनागत सुधार गरेर सञ्चालनमा ल्याइएको हो। वार्डमा नर्सिङ स्टेसनको व्यवस्थासहित बिरामीहरूको रेखदेखमा समेत सहजता हुने गरी शय्या तथा कोठाहरूको व्यवस्थापन गरिएको निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. अर्यालको भनाइ छ।
उनले वार्ड सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिबाट पाँच लाख रुपैयाँ खर्च गरेको जानकारी दिए। ओपिडी र अन्य ठाउँबाट रेफर गरिएका र भर्ना गर्नुपर्ने बिरामी उक्त वार्डमा राखेर परामर्शदाता मनोचिकित्सक डा. उद्धव लामा, डा. रितेश राउत तथा मनोरोग नर्सद्वारा बिरामीको सेवा दिन सुरु गरिएको छ। वार्ड सुरु गरिएको पहिलो दिन बुधबार नै तीनजना बिरामी भर्ना भएको अस्पतालले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्