हेटौँडा । विश्व बुबा आमा दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ मा शनिबारदेखि ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा आएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं. २ को आयोजना एवम् जलेश्वर मन्दिर व्यवस्थापन समितिको सहयोगमा सेवा केन्द्रको शुभारम्भ सँगै ज्येष्ठ नागरिक सम्मान तथा निमोनिया विरुद्धको खोप लगाइएको छ । ५४ जना ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप तथा दुईसय जनालाई थर्मस वितरण गरिएको हो ।

१०३ वर्षदेखि ८४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई पहिलो चरणमा निमोनिया विरुद्धको खोप लगाइएको हेटौँडा उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जनले जानकारी दिए । ‘पहिलो चरणमा सीमित बजेट भएकाले सबै ज्येष्ठ नागरिकलाई खोप लगाउन सकेनौँ, आगामी वर्षको बजेटमा बाँकी ज्येष्ठ नागरिकलाई समेट्छौ,’ –वडा अध्यक्ष महर्जनले भने । ज्येष्ठ नागरिकको सुगर, प्रेसर र अन्य स्वास्थ्य अवस्थाको जानकारी लिएर खोप लगाइएको थियो । वडाले निमोनिया विरुद्धको खोप प्रति डोज ५ हजारका दरले खरिद गरेको हो ।

त्यस्तै ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र पनि उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले दिवा सेवा केन्द्रको उद्घाट गर्दै ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र भेटघाट गर्ने र सुखदुःख साटासाट गर्ने थलो बन्नेमा विश्वास व्यक्त गरे । उनले बागमती प्रदेश सरकारले नीतिगत रूपमै ज्येष्ठ नागरिकका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताउँदै दिवा सेवा केन्द्रका लागि स्वयम् सेवकको पनि व्यवस्था गरिरहेको जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिका उप प्रमुख राजेश कुमार बनियाले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान, सीप युवा पुस्ताले ग्रहण गर्नुपर्ने बताउँदै उहाँहरु इतिहासको जानकार भएको बताए । पछिल्लो समय युवाहरू विदेशिने क्रमसँगै ज्येष्ठ नागरिकसँग बोल्ने, कुराकानी गर्नेहरू पनि नहुँदा अहिले सञ्चालनमा आएको दिवा सेवा केन्द्रले सबै ज्येष्ठ नागरिक भेटघाट गर्ने, भजन कीर्तन, नाचगान गर्ने थलो हुनेमा विश्वास व्यक्त गरे । उनले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र उपमहानगरको १९ वटै वडामा आवश्यक रहेको बताउँदै उपमहानगरको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको स्पष्ट पारे ।

ज्येष्ठ नागरिक परिवारका संरक्षक र समाजका पथप्रदर्शक भएकाले लामो जीवन भोगाइका अनुभवले खारिएका ज्ञान, सीपलाई सम्मान गर्नुपर्ने हेटौँडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा निर्देशक विष्णुकुमारी लामिछानेले बताइन् । उनले सूचना र प्रविधिको विकासले समाजमा परम्परागत ज्ञान, सीप, धारणा र कला ओझेलमा पर्दै गएको र पारिवारिक वातावरणमा मात्र समय व्यतीत गर्न कठिनाइ भएकाले ज्येष्ठ नागरिकका लागि दिनभर भलाकुसारी तथा विविध कार्य गर्न ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको महत्व हुने बताइन् ।

हेटौँडा–२ मा छ सय १३ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको वडा सचिव आरपी गुरागाईले जानकारी दिए । हेटौँडा उपमहानगरभित्र पहिलो पटक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएको हो । ज्येष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ अनुसार, ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पूरा गरेका नेपाली नागरिक हुन । राष्ट्रिय जनगणना–२०७८ अनुसार ज्येष्ठ नागरिकको जनसंख्या २९ लाख ७७ हजार ३ सय १८ अर्थात् कुल जनसङ्ख्याको १०.२१ प्रतिशत छ ।

कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुर अध्यक्ष हरि प्रसाद सिग्देल, ज्येष्ठ नागरिक समाज मकवानपुर अध्यक्ष केदार न्यौपाने, जलेश्वर महादेव क्षेत्र विकास समिति अध्यक्ष मुरारी सुवेदी, वनस्खण्डी देवी सामुदायिक वन समिति अध्यक्ष भवसागर श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य सुरज बतौँला लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रम हेटौँडा उपमहानगरपालिकाकी गंगा चौलागाईले संचालन गरेकी थिइन् । गोरखापत्रबाट