हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गा नारायण श्रेष्ठले प्रदेशमा विपद् पूर्व सूचना प्रणाली जडान गर्ने तयारी गरिएको बताएका छन ।
आन्तरिक तथा कानून मन्त्रालयको आयोजनामा हेटौँडामा भएको विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विपद् जोखीम क्षेत्र पहिचान गरेर नक्साङ्कन गर्ने काम भईसकेकाले विपद् पूर्व सूचना प्रणाली जडान गर्ने बताए ।
प्रणाली जडान भएपछि धनजनको क्षति न्यूनीकरण हुनेमा विश्वास व्यक्त गर्दै उनले पूर्व सूचना प्रणाली प्रभावकारी बनाउनेगरी अगाडि बढेको जानकारी दिए । विपद् न्यूनीकरणका लागि प्रदेशमा रहेका तीन वटै गोदाम घरमा आवश्यक सामाग्री खरिदका लागि तीन करोड बराबरको विपद् सामाग्री खरिद गर्ने प्रक्रियामा रहेको जानकारी दिए ।
विपद्को कारण मानव रहेको वताउँदै प्रकृतिमाथि दोहन हुने क्रम बढ्दो रहेकोमा मन्त्री श्रेष्ठले चिन्ता व्यक्त गरे । प्रकृतिमैत्री विकास आवश्यक रहेको औल्याउँदै ५० को दशकदेखि ८० को दशकसम्म ३० बर्षको अवधिमा धेरै भत्काउने काम भएको बताउँदै अब भत्काउने र डोजरे विकासमा प्रदेश सरकार नजाने उहाँको भनाई छ । प्रकृति विरोधी विकासले बाढी, पहिरो, भूक्षयको जोखीम बढेको बताउँदै मन्त्री श्रेष्ठले प्रदेश सरकारले नीति बनाएरै भत्काउने र डोजरे विकास रोक्नुपर्नेमा जोड दिए ।
प्रसङ्ग जोड्दै विपद् न्यूनीकरणको संस्कृति विद्यालयतहबाटै विकास गर्नुपर्ने बताउँदै अबको १० बर्षभित्र प्रदेशभर विपद् संस्कृतिको निर्माण गर्नुपर्ने बताए । विद्यालय र आम नागरिक तहमा विपद् न्यूनीकरणको कार्यक्रम लैजानुपर्छ, सरकारले मात्रै विपद् व्यवस्थापन गर्न सक्दैन,–मन्त्री श्रेष्ठले भने । तीनै तहको सरकार मिलेर विपद् व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिर्दै देशभर स्वयम् सेवक निर्माण र परिचालन भइरहेको जानकारी दिए ।
विपद् व्यवस्थापनका लागि वडा वडा र टोल टोलमा स्वयम् सेवक निर्माण र परिचालन प्रभावकारी रुपमा आवश्यक रहेको बताउँदै आव २०८०-८१ मा विपद् स्वयम् सेवक परिचालन गर्न बजेट राखेर कार्यान्वयनमा लगेको जानकारी दिर्दै मन्त्री श्रेष्ठले आव २०८१-८२ मा थप स्थानीय तहसँग समन्वय गरेर विपद् स्वयम् सेवक बनाउने तयारी भईरहेको बताए ।
विपद् न्यूनीकरणका लागि उपलब्ध प्रविधि, ज्ञान, सीप मात्रै पुग्दो नभएको बताउँदै मन्त्री श्रेष्ठले रैथाने रुपमा रहेको ज्ञान, सीप र अनुभवलाई पनि प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । विपद् सुरक्षा संस्कृति निर्माण अभियानकै रुपमा लैजान सबै नीतिमा विपद् व्यवस्थापन राख्नुपर्ने बताए । प्रदेशका सबै मन्त्रालयले विपद् न्यूनीकरणका लागि बजेट बिनियोजन गर्नुपर्ने उनको धारणा थियो । उनले प्रदेश सरकारले विपद्लाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिरहेको जानकारी दिए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीको सभाध्यक्षतामा भएको कार्यक्रममा महाशाखा प्रमुख सुरेश खनालले स्वागत गरे । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालय अधिकृत आठौँ रबिता कार्कीले विपद् व्यवस्थापनमा भएका प्रयास र आगामी कार्यदिशा, डिभिजन वन कार्यालय राप्ती मनहरीका वन अधिकृत गगन शर्माले डढेलो तथा आगलागी नियन्त्रणमा भएका प्रयास र आगामी कार्यदिशा, हेटौँडा अस्पतालका निमित निर्देशक डा.श्रीधर अर्यालले ठुलो सङ्ख्याका घाईते विरामीको व्यवस्थापनका बिषयमा प्रस्तुतीकरण गरे । कार्यक्रममा नेपाली सेना, प्रहरी, शसस्त्र, अनुसन्धान, विपद् फोकल पर्सन लगायतका सरोकारवालाहरुको सहभागिता रहेको छ ।












प्रतिक्रिया दिनुहोस्