हेटौँडा । बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याएको बागमती प्रदेश विश्वविद्यालयले आगामी शैक्षिक शत्रबाट पठनपाठन सुरु गर्ने गरी तयारी थालेको छ । सोही क्रममा विश्वविद्यालयले तयार पारेको वेबसाइटको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार सुरु गरिएको छ ।
भदौ महिनाबाट पठनपाठन सुरु गर्ने गरी तयारीलाई तीव्रता दिइएको कार्यक्रममा जानकारी दिइएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वविद्यालयले तीन वटा सङ्कायमा अध्यापन हुने जानकारी गराए। विश्वविद्यालयका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले अध्यापनका लागि वार्षिक शैक्षिक क्यालेन्डर निर्माण गरेर कार्यक्रम निर्धारण गर्ने जानकारी दिए ।
विश्वविद्यालयमा सबै किसिमको व्यावसायिक र प्राविधिक विषय मात्र पठनपाठन हुने छ । रोजगारमूलक र स्वरोजगार बन्ने विषय अध्यापन गराइने योजना रहेको उनले बताए । विश्वविद्यालयले अन्तिम सेमेस्टरमा सबै विद्यार्थी प्रशिक्षणमा रहने गरी योजना बनाएको छ । आन्तरिक तयारी पूरा भएपछि भदौदेखि पठनपाठन सुरु हुने छ ।
हेटौँडामा केन्द्रीय कार्यालय रहेको बागमती प्रदेश सरकारको सार्वजनिक विश्वविद्यालय प्रदेश विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) चल्ने छ । बोर्ड अफ ट्रस्टीले नीति नियम र योजना बनाउने छ । कार्यकारी परिषद् र प्राज्ञिक परिषद्ले कार्यान्वयन गरी प्रदेश सरकारको सार्वजनिक विश्वविद्यालय सञ्चालन हुने छ । विश्वविद्यालयमा विज्ञान तथा प्रविधि सङ्काय, व्यवस्थापन तथा कानुन सङ्काय र शिक्षा तथा सामाजिक विज्ञान सङ्काय रहेको छ ।
आङ्गिक क्याम्पस हुन चाहने सामुदायिक क्याम्पसलाई स्वीकृति दिइने यसका लागि चाँडै नै सूचना प्रकाशित गरिने छ । मुख्यमन्त्री लामाले बागमती विश्वविद्यालय प्रदेशको गौरवको योजना भएको बताए । सरकारले सिपमूलक र रोजगारमूलक शिक्षामा जोड दिएको जानकारी दिए । विश्वविद्यालयले हालै डिनका लागि आवेदन माग गरेको छ ।












प्रतिक्रिया दिनुहोस्