हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका युवाहरूले गाउँ सफा बनाउने उद्देश्यसहित सरसफाइ अभियान सञ्चालन गरेका छन् । एक सातादेखि स्थानीय युवाहरूले “आफ्नो गाउँ आफैँ सफा गरौँ” भन्ने अभियानअन्तर्गत नियमित रूपमा सरसफाइ गर्दै आएका हुन् ।
प्रत्येक बिहान युवाहरू जम्मा भएर गाउँपालिका वडा नम्बर–३ आसपासका क्षेत्र, मनकामना डेरी चोक, फुट्सल क्षेत्र तथा सडक किनारमा जथाभावी फालिएका फोहोर सङ्कलन गर्दै सरसफाइ अभियान सञ्चालन गरिरहेका छन् । सरसफाइका क्रममा मदिरा, पानीको बोत्तल, चाउचाउ, चिप्स, गुड्खाजन्य पद्धार्थ र सुर्तीका प्याकेट तथा अन्य विविध प्लाष्टिकजन्य फोहर भेटिएको थियो । गाउँलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले करिव २० जना युवाको सक्रिय उपस्थितीमा अभियान सञ्चालन गरिएको थियो । एक साता सञ्चालन भएको अभियानका क्रममा एक टयाक्टर फोहर सङ्कल भएको छ ।
अभियानमा सहभागी युवा प्रेमप्रसाद तिमल्सिनाका अनुसार गाउँलाई सफा राख्ने उद्देश्यले सुरु गरिएको अभियान अहिले दैनिक रूपमा सञ्चालन भइरहेको छ । “आफ्नो ठाउँ सफा र राम्रो बनाउने जिम्मेवारी सबैको हो भन्ने सोचका साथ अभियान सुरु गरेका हौँ,” उनले भने ।
युवाहरूले सडक किनार, सार्वजनिक स्थल तथा चोकहरूमा थुप्रिएका फोहोर सङ्कलन गरी व्यवस्थापनसमेत गरेका छन् । सङ्कलित फोहोरलाई ट्याक्टरमार्फत हेटौँडा उपमहानगरपालिकाको डम्पिङ साइडमा पठाइएको छ ।
स्थानीयस्तरमै युवाहरूले देखाएको सक्रियता र सामाजिक उत्तरदायित्वले समुदायमा सकारात्मक सन्देश प्रवाह भएको छ ।
गाउँ सफा राख्ने अभियानले वातावरण संरक्षणसँगै नागरिकमा सचेतना बढाउने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाले पनि युवाहरूको प्रयासको प्रशंसा गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् । सामूहिक प्रयासबाट गाउँलाई सफा, सुन्दर र स्वस्थ बनाउने युवाहरूको अभियान अहिले उदाहरणीय बनेको छ ।












प्रतिक्रिया दिनुहोस्