हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि दुई अर्ब ८५ करोड पाँच लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको तुलनामा पाँच करोड रुपैयाँले बजेट घटाउँदै उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा सुशासनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।
मंगलबार सम्पन्न उपमहानगरपालिकाको १९औँ नगरसभामा उपमेयर राजेश बानियाँले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । चालू आर्थिक वर्ष ०८२/८३ मा उपमहानगरपालिकाले दुई अर्ब ९० करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
उपमेयर बानियाँले प्रस्तुत गरेको बजेटमा विकास निर्माणलाई निरन्तरता दिनुका साथै नागरिकको आधारभूत सेवामा पहुँच विस्तार गर्ने उद्देश्य राखिएको छ। बजेटमा विशेषगरी सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई जोड दिइएको छ।
आन्तरिक स्रोतबाट ५७ करोड उठाउने लक्ष्य
उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा कुल बजेट व्यवस्थापनका लागि आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। त्यसैगरी राजस्व बाँडफाँटबाट ९९ करोड २० लाख ४८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेश सरकारबाट विभिन्न अनुदान शीर्षकमा १० करोड एक लाख ७२ हजार रुपैयाँ र संघीय सरकारबाट एक अर्ब १८ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।उपमहानगरपालिकाले संघीय तथा प्रदेश सरकारको अनुदानसँगै आफ्नै आन्तरिक आम्दानी वृद्धि गर्ने रणनीतिसमेत अघि सारेको जनाएको छ।
पूर्वाधार विकासमा सबैभन्दा ठुलो लगानी
आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ। यसका लागि मात्रै ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ। वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ छुट्याइएको छ। सडक बोर्डअन्तर्गतका योजनाका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ भने सडक सुरक्षा तथा ‘उज्यालो सहर’ कार्यक्रमका लागि ९५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ। सहरको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडानका लागि ५३ लाख रुपैयाँ छुट्याइएको छ।
बसपार्क र सहरी विकासमा ठुलो बजेट
हेटौँडाको दीर्घकालीन सहरी व्यवस्थापनलाई ध्यानमा राख्दै एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि चार करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी, सहरी विकास तथा पूर्वाधार विकास कार्यक्रमका लागि २६ करोड ४९ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
आकस्मिक पूर्वाधार मर्मत तथा पुनर्स्थापनाका लागि दुई करोड रुपैयाँ छुट्याइएको छ भने भविष्यमा सञ्चालन हुने विकास आयोजनाहरूको तयारीका लागि परियोजना बैंक निर्माणमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारीमा सञ्चालन हुने खानेपानी योजनाका लागि एक करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
उपमहानगरपालिकाले सुरक्षित खानेपानी सेवाको पहुँच विस्तार गर्दै सहरी क्षेत्रको खानेपानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
शिक्षामा गुणस्तर र प्राविधिक शिक्षामा जोड, घरदैलो स्वास्थ्य सेवा विस्तार
शिक्षा क्षेत्रलाई पनि उपमहानगरपालिकाको बजेटले प्राथमिकतामा राखेको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार, विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, सूचना प्रविधिको प्रयोग विस्तार तथा प्राविधिक शिक्षाको पहुँच बढाउने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने र विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने लक्ष्य बजेटमा समेटिएको छ।
स्वास्थ्यतर्फ ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’लाई निरन्तरता दिइने भएको छ। ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रमलाई पनि विस्तार गरिने उल्लेख गरिएको छ। मातृ तथा शिशु स्वास्थ्य सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ भने आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ।
कृषि र पशुपालनमा साढे सात करोडभन्दा बढी
आर्थिक विकासअन्तर्गत कृषि क्षेत्र सुधारका कार्यक्रम सञ्चालन गर्न चार करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ। पशु विकास कार्यक्रमका लागि तीन करोड २४ लाख रुपैयाँ र उद्योग तथा सहकारी क्षेत्र प्रवर्द्धनका लागि एक करोड १९ लाख रुपैयाँ बजेट छुट्याइएको छ। कृषि उत्पादन वृद्धि, व्यावसायिक पशुपालन प्रवर्द्धन तथा स्थानीय उद्यमशीलता विकासमा बजेट केन्द्रित रहेको जनाइएको छ।
खेलकुद क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले एक करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ।मेयर कप, उपमेयर कप तथा अन्य विभिन्न खेल प्रतियोगिता सञ्चालन गरी युवालाई खेलकुदमा आकर्षित गर्ने लक्ष्य राखिएको छ।
फोहाेर व्यवस्थापन, दमकल र विपत् व्यवस्थापनमा लगानी
सहरको सरसफाइ तथा फोहाेरमैला व्यवस्थापनका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको छ। दमकल सञ्चालन, मर्मत तथा अग्नि नियन्त्रणसम्बन्धी कार्यक्रमका लागि दुई करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ। वातावरण संरक्षण तथा विपत् व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न तीन करोड ५५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
उपमहानगरपालिकाले प्रशासनिक तथा कार्यालय सञ्चालन खर्चका लागि ४५ करोड रुपैयाँ विनियोजन गरेको छ।
त्यसैगरी संस्थागत क्षमता विकास, सुशासन प्रवर्द्धन तथा सूचना प्रविधिको प्रयोग विस्तारका लागि दुई करोड ६५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
डिजिटल माध्यमबाट सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, प्रशासनिक कामकाजलाई प्रविधिमैत्री बनाउने तथा नागरिकलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य बजेटले लिएको छ। नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि पारित गरिनेछ।उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणलाई गति दिने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट सार्वजनिक गरेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्