हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ८९ करोड ५० लाख ४४ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा वातावरणमैत्री पूर्वाधार विकासलाई केन्द्रमा राख्दै गाउँपालिकाले आगामी वर्षको बजेट तथा कार्यक्रम अघि सारेको हो।

मंगलबार सम्पन्न गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले बजेट प्रस्तुत गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई आत्मसात् गर्दै ‘समृद्ध बकैया’ निर्माण गर्ने लक्ष्यका साथ बजेट तर्जुमा गरिएको बताए। सीमित स्रोत र साधनका बाबजुद गाउँपालिकाको समग्र विकास, सेवा प्रवाह सुधार तथा स्थानीय उत्पादन वृद्धिलाई केन्द्रमा राखेर बजेट तयार गरेको उनको भनाइ छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको कुल बजेटमध्ये चालूतर्फ ६३ करोड १३ लाख १९ हजार रुपैयाँ अर्थात् ७१.४३ प्रतिशत र पुँजीगततर्फ २५ करोड ३७ लाख २५ हजार रुपैयाँ अर्थात् २८.५७ प्रतिशत खर्च गर्ने प्रस्ताव गरेको छ। बजेटको ठुलो हिस्सा सेवा प्रवाह, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाजस्ता क्षेत्रमा केन्द्रित गरिएको छ।

बकैया गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि प्रमुख स्रोत संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रहेको छ। बजेटअनुसार नेपाल सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँट तथा ससर्त अनुदानमार्फत ४९ करोड ७३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा १३ करोड ५२ लाख ८८ हजार ५१५ रुपैयाँ प्राप्त हुने अनुमान छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट चार करोड ६७ लाख ७५ हजार ८८५ रुपैयाँ तथा स्थानीय राजस्व बाँडफाँटबाट पाँच करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।

सामाजिक विकासमा सबैभन्दा बढी बजेट
गाउँपालिकाले आगामी आर्थिक वर्षमा सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ। कुल बजेटको ३३.७० प्रतिशत (१० करोड ३३ लाख ५० हजार रुपैयाँ) सामाजिक विकासतर्फ विनियोजन गरिएको छ।

शिक्षा क्षेत्रको गुणस्तर सुधार, विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण तथा शैक्षिक वातावरण सुधारका लागि चार करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धन, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि दुई करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

कृषि आधुनिकीकरणमा जोड
कृषि क्षेत्रलाई व्यावसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले गाउँपालिकाले दुई करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कृषि आधुनिकीकरण, व्यावसायिक खेती, पशुपालन तथा उत्पादकत्व वृद्धिमार्फत गाउँपालिकालाई खाद्यान्न, दुध र मासु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य बजेटले लिएको छ।

कृषकलाई प्रोत्साहन, उत्पादन वृद्धि र कृषि व्यवसायको विस्तारमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउने नीति गाउँपालिकाले अघि सारेको छ।

पूर्वाधार विकासका लागि नाै करोडभन्दा बढी
पूर्वाधार विकासतर्फ गाउँपालिकाले नाै करोड ३७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। सडक, पुल, सार्वजनिक संरचना तथा अन्य आधारभूत पूर्वाधार निर्माणलाई निरन्तरता दिँदै स्थानीयस्तरमा विकास गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ।

गाउँपालिकाले विकास आयोजनामा नागरिकको प्रत्यक्ष सहभागिता बढाउन १० प्रतिशत लागत साझेदारीको नीति पनि अवलम्बन गरेको छ। यसले योजनाप्रति स्थानीयको अपनत्व र स्वामित्व बोध बढाउने अपेक्षा गरिएको छ।

संस्थागत विकास, सेवा प्रवाह सुधार तथा सुशासन प्रवर्द्धनका लागि ६ करोड ३५ लाख ७५ हजार रुपैयाँ बजेट छुट्याइएको छ। वातावरण संरक्षण तथा विपत् व्यवस्थापनका कार्यक्रमका लागि ६२ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले प्रशासनिक सेवाको प्रभावकारिता बढाउन तथा नागरिकलाई सहज सेवा उपलब्ध गराउन संस्थागत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

करार कर्मचारीको पारिश्रमिक वृद्धि
बजेटमार्फत गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीहरूको मनोबल उच्च बनाउन महत्त्वपूर्ण निर्णय गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयसँग करार सम्झौता गरी कार्यरत कर्मचारीहरूको पारिश्रमिकमा १० प्रतिशत वृद्धि गरिएको छ।

साथै उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था पनि मिलाइएको छ। कर्मचारीको सेवा सुविधा सुधारले कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने गाउँपालिकाको अपेक्षा छ।

चालू वर्षमा ७० प्रतिशत भौतिक प्रगति
चालू आर्थिक वर्ष ०८२/८३ को समीक्षा गर्दै उपाध्यक्ष खत्रीले जेठ मसान्तसम्म गाउँपालिकाले करिब ७० प्रतिशत भौतिक प्रगति हासिल गरेको जानकारी दिए। असार मसान्तसम्म पुँजीगत बजेटको भौतिक प्रगति ८५ प्रतिशत पुग्ने संशोधित अनुमान गरिएको उनले बताए।

उपाध्यक्ष खत्रीले सीमित स्रोतसाधनका बाबजुद जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल तथा नागरिक समाजको सहयोगबाट बजेटको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गरे। उनले आगामी आर्थिक वर्षको बजेटले बकैयाको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सुशासनको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षासमेत व्यक्त गरे।