हेटौँडा । वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढिरहेका बेला हेटौँडाको चुच्चेखोलामा भने खुवा (कुराउनी) उत्पादन र बिक्री व्यवसायले युवालाई स्वदेशमै रोजगारी र आम्दानीको अवसर दिएको छ । खुवाका लागि प्रख्यात हेटौँडा–६ र १७ क्षेत्रका नयाँ तथा पुराना व्यवसायीले दूधजन्य परिकार उत्पादनबाट मासिक दशौँ हजारदेखि लाखौँ रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन । व्यवसाय विस्तारसँगै दूग्ध उत्पादक, किसान, डेरी, सामुदायिक वन र श्रमिकसमेत लाभान्वित भएका हुन् ।

हेटौँडा काठमाडौँ सडक खण्डको कान्ति लोकपथअन्तर्गत पर्ने चुच्चेखोला खुवा उत्पादनको केन्द्रका रूपमा परिचित छ । यहाँ एक दर्जनभन्दा बढी व्यवसायीले दैनिक सयौँ लिटर दूध घोट्दै खुवा, गुदपाक, पुष्टकारी, पेडा, बर्फीलगायतका परिकार उत्पादन गर्दै आउनुभएको छ । हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने यात्रुले समेत यहाँका उत्पादन कोसेलीका रूपमा लैजाने गरेका छन् । सडक सञ्जालको विस्तारसँगै यहाँको खुवा व्यापार थप विस्तार भएको व्यवसायीहरू बताउँछन् ।

हेटौँडा–१७ का लकेश सापकोटाले साथीभाइ विदेशिएपछि आफ्नै ठाउँमा भैँसीको दूधबाट खुवा उत्पादन गरी बिक्री गर्ने व्यवसाय सुरु गरेका हुन । मकवानपुर बहुमुखी क्यापसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत उनले मासिक करिब ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनलाई आमाबुबाले पनि व्यवसायमा सहयोग गरिरहेका छन् । कक्षा १२ पछि अधिकांश साथीभाइ विदेशिए पनि आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्दै आएकोमा सापकोटा सन्तुष्ट छन् ।

व्यवसायले विस्तारै गति लिँदै जाँदा उहाँ थप उत्साहित भएका छन् । सापकोटाका अनुसार यहाँ उत्पादन भएको खुवा, गुदपाक, पुष्टकारी लगायतका सामग्री हेटौँडा–काठमाडौँ रुटमा चल्ने सवारीका यात्रुहरूले कोसेलीका रूपमा लैजाने गरेको उनले बताए । आगामी दिनमा शुद्ध शाकाहारी खाजाका परिकार थप गर्ने योजना रहेको उनी बताउँछन् । यद्यपि साथीभाइ सबै विदेश जाँदा आफू केही खिन्न भएको उनको भनाइ छ ।

चुच्चेखोलाका पुराना व्यवसायी कृष्णप्रसाद तिमल्सिनाले २०३६ सालदेखि खुवा उत्पादन गर्दै आएका छन । दुईवटा कराइ र सामान्य लगानीबाट सुरु गरिएको व्यवसायले अहिले लाखौँ रुपैयाँको कारोबार गर्ने अवस्थामा पुगेको उनी बताउँछन । दैनिक करिब ३०० लिटर दूध प्रशोधन गरी ३० देखि ४० किलोसम्म खुवा उत्पादन गर्ने उनका अनुसार सडक विस्तार र बजार पहुँच बढेपछि व्यापार उल्लेख्य रूपमा बढेको छ ।

विगत २६ वर्षदेखि कृष्ण कन्हैया खुवा भण्डार सञ्चालन गर्दै आएका श्यामकुमार मानन्धरले पनि दैनिक करिब २०० लिटर दूधबाट २५ किलोभन्दा बढी खुवा उत्पादन गर्दै आएका छन् । मासिक लाखौँ रुपैयाँको कारोबार हुने उनको व्यवसायमा हाल छ जनाले रोजगारी पाएका छन् । भाडाको पसलबाट खुवा व्यवसाय सुरु गरेका उनको अहिले दुईवटा खुवा पसल रहेका छन् । उनले आफ्नै घरघडेरी समेत जोड्न सफल भएका छन भने उनलाई श्रीमति र छोराछोरीले पनि व्यवसायमा सघाइरहेका छन् ।

त्यस्तै लक्ष्मीनारायण खुवा बिक्री भण्डारका मदनकुमार तिमल्सिना युरोपमा रोजगारी गरिरहेकै अवस्थामा पारिवारिक व्यवसाय विस्तार भएपछि स्वदेश फर्किएका हुन । खुवा व्यवसायबाट सबै खर्च कटाएर मासिक करिब एक लाख रुपैयाँ बचत हुन थालेपछि परिवारसँगै बसेर व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

व्यवसायीहरूका अनुसार खुवा उत्पादनसँगै स्थानीय किसानको दूध बिक्री बढेको, डेरी उद्योग विस्तार भएको तथा सामुदायिक वनबाट प्राप्त दाउराको समेत उपयोग हुन थालेको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्न र साना उद्यमलाई प्रोत्साहन गर्न सके स्वदेशमै रोजगारी सिर्जना हुने उनीहरूको विश्वास छ ।