धूप उत्पादनमा व्यस्त हेटौँडा–५ डुङ्गेधारा टोलका गृहिणीहरू । तस्बिर: अनिल पराजुली ।

हेटौँडा । बिहान छोराछोरीलाई विद्यालय पठाएर घरधन्दा सकिएपछि हेटौँडा–५ डुङ्गेधारा र हेटौँडा–८ कमानेका गृहिणी एउटै कोठामा भेला हुन्छन् । कोठाभरि नेपाली कागज, जडीबुटीबाट तयार गरिएको धूपको धुलो, धागो, लेबल र प्याकिङ सामग्री हुन्छ । त्यसपछि सुरु हुन्छ धूप उत्पादनको काम । फुर्सदको समय सदुपयोग गर्दै उनीहरूले धूप उत्पादनमार्फत आम्दानी गर्न थालेका छन् । सामूहिक प्रयासले उनीहरूको आर्थिक अवस्था मात्र होइन, आत्मविश्वास पनि बढाएको छ ।

हेटौँडा–५ की सुमिता महर्जनको घरमा नियमित रूपमा महिलाहरू भेला भएर धूप बनाउने गर्छन् । हाल हेटौँडा–५ डुङ्गेधाराका सात जना र हेटौँडा–८ कमानेका चार जना गरी ११ जना गृहिणी यस कार्यमा आबद्ध छन् । उनीहरूले दैनिक करिब एक सय प्याकेट धूप उत्पादन गर्ने गरेका छन् । यसअनुसार मासिक करिब तीन हजार प्याकेट धूप उत्पादन हुने गरेको छ । एक जनाले दैनिक करिब एक दर्जन प्याकेट धूप तयार गर्ने गरेको र एक प्याकेटबापत ३० रुपियाँ पारिश्रमिक पाउने गरेका छन् । घरधन्दा सकिएपछि समय मिलाएर धूप उत्पादन गर्ने गरिएको स्थानीय उर्मिला गौतमले बताइन् ।

“खाली समयको सदुपयोग गरेका हौँ, घरको काम सकेपछि यहाँ जम्मा भएर धूप बनाउँछौँ,” उनले भनिन्, “पहिले सामान्य खर्चका लागि पनि श्रीमान्कै भर पर्नुपथ्र्यो, अहिले यही आम्दानीबाट घरखर्चमा सहयोग गर्नुका साथै केही बचत पनि गर्न सकेका छौँ ।”

धूप उत्पादनमा सहभागि गृहिणी महिलाहरूका अनुसार पहिले फुर्सदको अधिकांश समय घरमै बस्ने र मोबाइल चलाएर बिताउने गरिन्थ्यो, अहिले भने त्यही समयलाई उत्पादनशील काममा लगाएर दैनिक तीन सय रुपियाँभन्दा बढी आम्दानी गर्न थालेका छन्, आफ्नै कमाइबाट आवश्यक सामग्री खरिद गर्न सक्ने अवस्था बनेपछि परिवारमा आर्थिक रूपमा निर्भर रहनुपर्ने अवस्था हट्दै गएको उनीहरूको भनाइ छ ।

महर्जनले महिलाहरू गफगाफ गर्दै सामूहिक रूपमा काम गर्दा समयको सदुपयोगसँगै आपसी आत्मीयता पनि बढेको बताइन् । “धूप उत्पादनले आम्दानी मात्र दिएको छैन, साथीहरूसँग मिलेर काम गर्ने अवसर पनि दिएको छ,” उनले भनिन् ।

त्यस्तै हेटौँडा–८ कमानेकी अनुसा ढकालले घरायसी काम सकेर फुर्सदको समयमा धूप उत्पादनबाट आम्दानी गर्न थालेको बताइन । अर्की गृहिणी सीमा श्रेष्ठले धूप उत्पादनबाट हुने आम्दानीले घरखर्च टार्न सहज भएको बताइन् । बसिबियालोको समय सदुपयोग हुनुका साथै चुल्होचौकोमा मात्र सीमित नरही आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्न सकेको उनको अनुभव छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घ महासचिव प्रतिमा श्रेष्ठले स्थानीय गृहिणीलाई आवश्यक कच्चा पदार्थ उपलब्ध गराउँदै उत्पादन गरिएको धूप खरिद गर्ने व्यवस्था मिलाएको बताइन् । उनका अनुसार महिलाले धूप उत्पादन र प्याकिङको काम सम्पन्न गरेपछि पारिश्रमिक प्रदान गरिन्छ । उत्पादन गरिएको धूप ‘प्रतिमा शिवशक्ति होम गोल्ड हेटौँडा’ ब्रान्डमार्फत बजारमा बिक्री हुँदै आएको छ । हेटौँडा–५ डुङ्गेधारा र हेटौँडा–८ कमानेका गृहिणीलाई स्वरोजगार बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको उनले बताइन् ।

उनका अनुसार धूप निर्माणमा भीमसेन, कपुर, सालधूप, अष्टसुगन्धलगायत जडीबुटीजन्य सामग्री प्रयोग गरिन्छ । स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले तयार गरिएको धूप हेटौँडासहित काठमाडौँ, पोखरा, धनगढीलगायत विभिन्न जिल्लामा बिक्री हुँदै आएको छ ।

“उत्पादनको गुणस्तर राम्रो भएकाले बजारमा माग बढ्दो छ, कच्चा पदार्थको अभाव छैन र उत्पादन भएको धूप सहज रूपमा बिक्री भइरहेको छ,” उनले भनिन् । “एक पटक धूप प्रयोग गरेका ग्राहकबाट पुनः माग आउने गरेको छ । बजार विस्तार हुँदै गएकाले आगामी दिनमा थप महिलालाई पनि यस कार्यमा जोड्ने योजना छ ।”

श्रेष्ठका अनुसार दुई वर्षअघि बजारमा गुणस्तरीय प्राकृतिक धूपको अभाव देखिएपछि जडीबुटीजन्य कच्चा पदार्थ प्रयोग गरेर धूप उत्पादन सुरु गरिएको हो । हाल अनलाइनमार्फत अर्डरका आधारमा देशका विभिन्न सहरमा धूप पठाउने गरिएको छ ।

धूप उत्पादनमा संलग्न महिलाहरूका लागि यो काम आम्दानीको माध्यम मात्र बनेको छैन, आर्थिक आत्मनिर्भरताको आधार पनि बनेको छ । पहिले सामान्य खर्चका लागि परिवारको भर पर्नुपर्ने उनीहरू अहिले आफ्नै कमाइबाट घरखर्चमा सहयोग गर्दै आत्मनिर्भर हुँदै गइरहेका छन् । स्थानीय स्रोत–साधनको उपयोग गर्दै फुर्सदको समयलाई उत्पादनशील बनाउने यी गृहिणी अन्य महिलाका लागि पनि प्रेरणाको स्रोत बनेका छन् ।