हेटौँडा । भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि हेटौँडा–६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
बाढीका कारण घरबारविहीन भएका तथा विपत्मा परेका नागरिकको राहतका लागि संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । संस्थाका अध्यक्ष हिमाल पौडेलका अनुसार दुई हजार ४८० जना शेयर सदस्यबाट प्रतिव्यक्ति १५ रुपैयाँका दरले सङ्कलित ३७ हजार २०० रुपैयाँ, सञ्चालक समितिका पदाधिकारीको दुई महिनाको भत्ताबापतको १८ हजार रुपैयाँ, तीज कार्यक्रमका लागि छुट्याइएको ४० हजार रुपैयाँ, कर्मचारीको दुई दिनको तलबबापतको नौ हजार ७५४ रुपैयाँ र ज्येष्ठ नागरिक कार्यक्रमबाट प्राप्त छ हजार १५७ रुपैयाँ गरी कुल एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरिएको हो ।
“संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विपत्मा परेका नागरिकलाई सहयोग गरेको हो,” अध्यक्ष पौडेलले भने । संस्थाले उक्त रकम जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
सहकारीले आफ्ना शेयर सदस्यको आर्थिक तथा सामाजिक हितका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधि गर्दै आएको जनाएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष हिमाल पौडेल, हेटौँडा–६ का वडा सदस्य विजय पौडेल, उपाध्यक्ष श्यामप्रसाद भट्टराई, कोषाध्यक्ष देवराज गौतम, सञ्चालक सदस्य यतिराज दंगाल, जीवकुमारी पौडेल र सल्लाहकार बद्रीबहादुर पाठकलगायतको सहभागिता थियो ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्