हेटाैँडा । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति खुलातर्फ एक हजार ९५६ मत प्राप्त गर्दै उनी केन्द्रीय कार्यसमितिमा पुगेका हुन्। यस समूहमा १२ पदका लागि ४१ जना प्रतिस्पर्धामा थिए । बुधबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार लामा आठौँ स्थानमा रहँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

हेटौँडा– ४ को वडासचिवबाट पार्टीको सांगठनिक जिम्मेवारी सम्हालेका लामाले जिल्ला कार्यसमितिका विभिन्न पद हुँदै केन्द्रीय सदस्यसम्मको यात्रा तय गरेका हुन् । जिल्ला सभापति बन्नुअघि उनले सहसचिव, कोषाध्यक्ष र सचिवको जिम्मेवारी निर्वाह गरेका थिए ।
०३६ सालबाट कांग्रेसको राजनीतिमा सक्रिय भएका लामा ०४८ सालमा हेटौँडा– ४ को पार्टी सचिव बनेका थिए । त्यसपछि क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका उनी ०५२ सालमा जिल्ला कार्यसमिति सदस्य बनेका थिए । ०४२ सालको सत्याग्रह तथा ०४६ र ०६२–६३ को जनआन्दोलनका क्रममा उनी प्रहरी हिरासतमासमेत बसेका थिए ।

पार्टी संगठनमा ०५७ सालमा जिल्ला सहसचिव, ०६३ सालमा कोषाध्यक्ष र ०७२ सालमा सचिव बनेका लामा इन्द्रबहादुर बानियाँ जिल्ला सभापति हुँदा सचिव रहेका थिए। ०७८ फागुनमा भएको जिल्ला अधिवेशनबाट लामा मकवानपुर पार्टीको सभापतिमा निर्वाचित भएका थिए। जिल्लाको पार्टी नेतृत्वसँगै लामाले प्रदेश सरकारको राजनीतिक सल्लाहकारको जिम्मेवारी पनि सम्हालेका छन्। बागमती प्रदेश मन्त्रिपरिषद्को ०८२ भदौ १२ गतेको बैठकले उनलाई मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको थियो ।

लामा ०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर– २ बाट कांग्रेसका उम्मेदवारसमेत बनेका थिए। मकवानपुरको राक्सिराङ गाउँपालिकाका स्थायी बासिन्दा लामाले स्नातक तहसम्म अध्ययन गरेका छन्।