हेटौँडा । मकवानपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले मध्यवर्ती क्षेत्रका अव्यवस्थित सुकुम्बासीको समस्या समाधान तथा उनीहरूलाई राहत प्रदान गर्न पहल अघि बढाइएको बताएका छन् ।

सांसद उप्रेतीको सचिवालयका अनुसार मध्यवर्ती क्षेत्रका सुकुम्बासीको समस्या समाधानको विषय उनले सदनमा निरन्तर उठाउँदै आएका छन्। हालै जारी वनसम्बन्धी र भूमिसम्बन्धी अध्यादेशले प्रभावित क्षेत्रका नागरिकका समस्या सम्बोधन गर्न सकारात्मक आधार तयार गरेको सचिवालयले जनाएको छ ।

भूमिसम्बन्धी समस्या समाधान, लालपुर्जा प्राप्ति तथा प्रभावित नागरिकका समस्या सम्बोधन गर्ने विषयमा मतदाता, शुभेच्छुक, वार्डेन, मध्यवर्ती क्षेत्रका परिषद् अध्यक्ष तथा संरक्षण अधिकृतसँग छलफलसमेत गरिएको छ ।

मध्यवर्ती क्षेत्रका नागरिकको भूमिसम्बन्धी अधिकार सुनिश्चित गर्न र समस्याको दीर्घकालीन समाधानका लागि आफ्नो पहल निरन्तर रहने सांसद उप्रेतीले बताएकाे सचिवालयले जनाएको छ ।

समस्या समाधानका लागि साथ र सहयोग प्रदान गर्ने मतदाता, स्थानीय बासिन्दा, शुभेच्छुक तथा सरोकारवालालाई सांसद उप्रेतीले धन्यवादसमेत दिएका छन् ।