हेटौँडा । छ वर्ष दुबईमा रोजगारी गरेर फर्किनुभएका हेटौँडा उपमहानगरपालिका–१४ का नारायण अधिकारीले बाँझो रहेको डेढ बिघा जमिनमा व्यावसायिक कृषि सुरु गरेका छन् । विदेशबाट फर्किएपछि आधुनिक प्रविधि अपनाएर फलफूल, तरकारी र अन्नबाली खेती गर्दै उहाँले लामो समयदेखि बाँझो रहेको जमिनलाई उत्पादनशील बनाए ।
दुबईमा रहँदा मोबाइलमार्फत कृषि प्रविधिसम्बन्धी भिडियो नियमित हेर्ने गर्नुभएका अधिकारीले नेपाल फर्किएपछि आफ्नो जमिनको माटो परीक्षण गराए । माटोमा अम्लीयपन बढी देखिएपछि कृषि प्राविधिकको सल्लाहमा चुन प्रयोग गरे । त्यसपछि पशुपालनसमेत सुरु गरी खेतीमा आवश्यक प्राङ्गारिक मलको व्यवस्थापन गरे ।
अधिकारीले डेढ बिघामध्ये करिब १५ कट्ठा जमिनमा ड्रागन फ्रुट, मेवा, एभोकाडो, कागती, लिची र कटहरसँगै अन्तरबालीका रूपमा विभिन्न तरकारी लगाएका छन् । बाँकी जमिनमा अन्नबाली लगाउने गरेका छन् । पहिलो चरणमा उनले मलेसियन रेड सियाम जातको ड्रागन फ्रुटका तीन सय बिरुवा रापेका छन् । यस वर्ष थप दुई सय ६० बिरुवाका लागि पोल तयार गरिरहेका छन् । रोपेको दोस्रो वर्षदेखि उत्पादन दिन थालेको ड्रागन फ्रुटबाट पहिलो वर्ष करिब डेढ क्विन्टल उत्पादन भएको उनले बताए । उत्पादित ड्रागन फ्रुट प्रतिकिलो तीन सयदेखि चार सय रुपियाँसम्ममा बिक्री भएको छ ।
त्यसैगरी, मलेसियन रेड लेडी जातको मेवाका २५ बोट परीक्षणका रूपमा लगाउँदा राम्रो उत्पादन भएपछि पाँच कट्ठा क्षेत्रफलमा मेवा खेती विस्तार गर्ने तयारी उनको छ । एभोकाडो, सुन कागती र लिच्चीसमेत परीक्षणका रूपमा लगाएका छन् । अधिकारीले ‘एकीकृत कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरी करिब २० लाख रुपियाँ लगानी गरेका छन् । खेतीयोग्य जमिनलाई घेराबार गरी गाईपालनसमेत गरेका छन् । हाल उनीसँग तीनवटा दुहुना गाई छन् । गाईको दूध बिक्रीबाट मासिक करिब ४० हजार रुपियाँ र मौसमी तरकारी बिक्रीबाट वार्षिक ३० हजार रुपियाँभन्दा बढी आम्दानी हुने उनले बताए ।
खेतीमा रासायनिक विषादीको प्रयोग न्यून गर्दै गाईको गोबर र मूत्रबाट प्राङ्गारिक मल बनाउने गरेका छन् । “सबै खर्च कटाएर मासिक ५० हजार रुपियाँभन्दा बढी बचत हुने गरेको छ,” अधिकारीले भने, “अब विदेश जानेभन्दा आफ्नै ठाउँमा कृषि गरेर बस्ने योजना बनाएको छु ।” हेटौँडा उपमहानगरपालिकाले उनलाई ड्रिप सिँचाइ र ड्रागन फ्रुट खेतीमा सहयोग गरेको छ । नेपाल सरकारको नवीन ज्ञान, सीप तथा क्षमता भएका उद्यमीलाई उपलब्ध गराउने सहुलियतपूर्ण ऋणसमेत उनले प्राप्त गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्