हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजातपथ कृष्ण प्रणामी मन्दिर नजिकै श्रेष्ठ कन्ट्रक्सनको सवारी पार्किङ ग्यारेजमा बुधबार भएको आगलागीमा दुई गाडी र एक स्कुटर जलेर नष्ट भएको छ ।

बुधबार साँझ करिव ०७ः४५ मा स्थानीय अशोक श्रेष्ठको श्रेष्ठ कन्ट्रक्सनको सवारी पार्किङ गर्ने ग्यारेजमा अचानक आगलागी भएको थियोे । आगलागीबाट ग्यारेजमा राखिएको बा ५ च २०५३ नम्बरको निसान कार, नम्बर नखुलेको भ्यान र ना ३८ प ३२५८ नम्बरको स्कुटर जलेर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । क्षति भएको बस्तुको मुल्यांकन हुन भने बाँकी रहेको उनले बताए ।

प्रहरी नायव उपरीक्षकको कमाण्डमा नेपाल प्रहरी र म्यादी प्रहरी गरी ४० जनाको टोली, हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा साढे ८ बजे आगो नियन्त्रणमा आएको थियो । घर धनीको परिवार काठमाडौं बस्ने गरेको र उक्त स्थानमा पाले मात्र बस्ने गरेको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।