हेटौँडा । हेटौँडा उपमहानगरपालिका–७ का एक हजार तीन सय घरधुरीलाई प्लास्टिकको विकल्पका रूपमा कपडाको झोला वितरण गरिने भएको छ । बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय मकवानपुरको आर्थिक तथा प्राविधिक सहयोगमा ‘एक जिल्ला, एक वडा प्लास्टिकमुक्त अभियान’ अन्तर्गत यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
डिभिजन वन कार्यालय मकवानपुरका वरिष्ठ वन अधिकृत वसन्तराज गौतमका अनुसार मकवानपुरका १० स्थानीय तहमध्ये पहिलो चरणमा हेटौँडा उपमहानगरपालिका–७ लाई छनोट गरी कार्यक्रम कार्यान्वयन भइरहेको छ । उपमहानगरपालिकाको निर्णयअनुसार उक्त वडालाई ४० माइक्रोनभन्दा पातलो प्लास्टिकमुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ ।
अभियानअन्तर्गत हेटौँडा–५ क्याम्पाडाँडादेखि हेटौँडा–७ न्यूरेनीसम्म कान्ति लोकपथको दायाँबायाँ सरसफाइ गरिएको थियो । सरसफाइका क्रममा आठ बोरा प्लास्टिकजन्य फोहोर सङ्कलन गरिएको थियो । स्थानीयवासीलाई जथाभावी प्लास्टिकजन्य फोहोर नफाल्न तथा वातावरणमैत्री व्यवहार अपनाउन आग्रह गरिएको छ ।
कार्यक्रमका लागि चालु आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयले तीन लाख रुपियाँ बजेट विनियोजन गरेको छ । यो अभियान प्रदेशका अन्य स्थानीय तहका वडामा पनि सञ्चालन भइरहेको जनाइएको छ ।
यसअघि डिभिजन वन कार्यालयले हेटौँडाका दुई वटा प्लास्टिक उद्योगको अनुगमन गरेको थियो । अनुगमनका क्रममा जेके प्लास्टिक उद्योगले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन गरेको भेटिएपछि पहिलो चरणमा सुधारका लागि सुझाव दिइएको कार्यालयले जनाएको छ ।
वरिष्ठ वन अधिकृत गौतमले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकले मानव स्वास्थ्य, माटो तथा वातावरणमा नकारात्मक असर पार्ने भएकाले त्यस्ता प्लास्टिकको प्रयोग नगर्न आग्रह गरे । उनले सामान खरिद गर्न जाँदा कपडाको वा वातावरणमैत्री झोला प्रयोग गर्न तथा प्लास्टिकजन्य फोहोरलाई वर्गीकरण गरी उचित व्यवस्थापन गर्नुपर्ने बताए ।
सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । यस्ता प्लास्टिक जथाभावी फालिँदा नदी, खोला तथा ढल निकास अवरुद्ध हुने, माटोको उर्वराशक्ति घट्ने र वातावरण प्रदूषण बढ्ने भएकाले यसको प्रयोग न्यूनीकरण आवश्यक रहेको सरोकारवालाको भनाइ छ । असार १८ गते ७ नं. वडालाई प्लास्टिक मुक्त वडा घोषणा समेत गर्ने तयारी गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्