हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाको सिमानाबाट बग्ने बागमती नदीको सतह बढेपछि नदी तटीय बस्ती, खेतीयोग्य जमिन र पुल जोखिममा परेका छन् । स्थानीयका अनुसार नदीमा ढुङ्गा, गिट्टी, बालुवा र माटो थुप्रिँदै जाँदा नदीको बहाव साँघुरिएको र वर्षायाममा बाढीको जोखिम बढेको हो ।
जोखिममा पर्ने क्षेत्रमध्ये ललितपुरको बागमती गाउँपालिका–४ खैरघारी र मकवानपुरको बकैया गाउँपालिका–१० घैँटार जोड्ने बागमती पुल पनि रहेको छ । बकैयाका स्थानीय रुपेन घलेका अनुसार हेटौँडा–काठमाडौं द्रुतमार्ग आयोजनाको सुरुङ निर्माणका क्रममा निस्किएको माटो जथाभावी थुपारिँदा वर्षासँगै नदीमा पुगेर जम्मा भएको र त्यसका कारण नदीको सतह उक्लिएको हो । यसअघि यस्तो समस्या नभएको भन्दै उनले अहिले नदी आसपासका बस्ती, खेतीयोग्य जमिन र पुल नै उच्च जोखिममा परेको बताए ।
स्थानीयका अनुसार ललितपुरको बागमती गाउँपालिका–४, ६ र ७ का खैरघारीबेँसी, धनडाँडाबेँसी र आस्राङबेँसी तथा मकवानपुरको बकैया गाउँपालिकाका घैँटारबेँसी, ठिङ्गनबेँसी फाँट, केराबारीबेँसी, चनथलीबेँसी, धुवाँकोट र तीनभङ्गाले क्षेत्र बढी प्रभावित हुन सक्ने अवस्थामा छन् । स्थानीयले नदी सफाइ र बहाव व्यवस्थापन गर्न सके जोखिम कम हुने बताएका छन् । हाल वर्षायामका कारण नदीजन्य सामग्री उत्खननमा रोक लगाइएको छ ।
बकैया गाउँपालिका–१२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईले द्रुतमार्ग निर्माणका क्रममा निस्किएको माटो नदीमा थुप्रिँदा समस्या बढेको बताए । उनका अनुसार नदीको सतह थप बढेमा वडा नं. १२ का करिब ४५ घरपरिवार विस्थापित हुन सक्ने जोखिम छ ।
बकैया गाउँपालिका–१० की वडाध्यक्ष कमला वाइवाले नदीमा गिट्टी, बालुवा र माटो थुप्रिएकाले पुलमुनिबाट पानी सहज रूपमा बग्न नसक्ने अवस्था रहेको बताए । समयमै व्यवस्थापन नगरिए वर्षायाममा पानी पुलमाथिबाट बग्न सक्ने र करिब २५ घरधुरी उच्च जोखिममा पर्ने उनको भनाइ छ । स्थानीयलाई सतर्क रहन सूचना जारी गरिएको पनि उनले जानकारी दिए ।
बागमती गाउँपालिका–४ खैरघारीका स्थानीय केशव सापकोटाले पनि बागमती नदीमा ढुङ्गा, गिट्टी, बालुवा र माटो थुप्रिएकाले समस्या बढ्दै गएको बताए । उनका अनुसार द्रुतमार्ग निर्माणका क्रममा उत्खनन भएको माटो नदीको बगरमा थुप्रिँदा बगर अग्लिएको र बस्ती जोखिममा परेको छ । बजार क्षेत्रबाट टाढा तथा भौगोलिक रूपमा विकट भएकाले थुप्रिएको ढुङ्गा, गिट्टी र बालुवाको व्यवस्थापन हुन नसकेको उनले बताए ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन भण्डारीले बागमती नदीमा वर्षायाममा पानीको बहाव अत्यधिक हुने भएकाले अहिले मेसिन प्रयोग गरेर नदी सफा गर्न सम्भव नभएको बताए । उनले बर्खाअघि वा वर्षायामपछि नदीमा थुप्रिएको ढुङ्गा, गिट्टी र बालुवा हटाएर बहाव व्यवस्थापन गर्नुपर्ने सुझाव दिए । मध्य वर्षायाममा भने स्थानीयले सतर्कता अपनाई सुरक्षित रहनुको विकल्प नरहेको उनको भनाइ छ ।
गत वर्ष असोज ११ र १२ गते आएको बाढीमा यस क्षेत्रका छ परिवार विस्थापित भएका थिए भने नदी कटानका कारण खेतीयोग्य जमिन र धानबालीमा क्षति पुगेको थियो । स्थानीय जनप्रतिनिधिले समस्या समाधानका लागि स्थानीय तहबाट पहल भइरहेको जनाउँदै दीर्घकालीन समाधानका लागि प्रदेश र सङ्घीय सरकारको समन्वय आवश्यक रहेको बताएका छन् । गोरखापत्रबाट












प्रतिक्रिया दिनुहोस्