हेटौंडा । हेटौंडा उपमहानगरपालिका २ नं. वडामा इन्टरनेटको तार व्यस्थित गरिने भएको छ । बिद्युतको पोलमा तारहरु अस्तव्यस्त हुँदा नगरको सुन्दरता कुरुप हुनुका साथै आगालागी एवं दुर्घटनाको पनि संभावना भएको भन्दै तारहरुलाई व्यवस्थापन गर्न अभियान संचालन गर्न लागिएको हो ।

आगामी जेठ ५ गते शुक्रवारदेखि पहिलो चरणमा संगमचोकबाट तार व्यवस्थापनको काम सुरु गर्ने सहमति भएको हो । २ नं. वडाको संगम चोकबाट पोलमा रहेको तारहरुको व्यस्थापन सुरु गर्न लागेका हौं, २ नंं. वडा अध्यक्ष बिष्णु गोपाल महर्जनले भने बिस्तारै वडा भरिको अस्तव्यस्त रहेका इन्टरनेट र पोलहरुको तारहरु व्यस्थापन गछौं । सरोकारवालाहरु संग छलफल र सहकार्य गरेर वडामा इन्टरनेट र बिद्युतिय तारहरुलाई व्यवस्थित बनाउने उनले बताए ।

वडामा रहेका बिद्युतीय पोलहरुको पनि नंम्बरीङ गर्ने तयारी भएको उनले बताए । पोलहरुमा नम्बरीङ गर्ने काम तत्कालै गछौं, उनले थपे कही कतै समस्या आउँदा मर्मत गर्न पोल नम्बर हुने बित्तिकै जान र पहिचान गर्न सजिलो हुन्छ ।

छलफल कार्यक्रममा वडा सदस्य इन्द्र प्रसाद रिजाल सहित नीजि तथा सरकारी मातहतका इन्टरनेट सेवा प्रदायक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।