हेटौंडा । हेटौंडाबाट कुलेखानी, मार्खु, चित्लाङ हुँदै काठमाडौँ जोड्ने सडकको चित्लाङ–चन्द्रागिरि–थानकोट सडकखण्ड एक साताका लागि बन्द भएको छ।

गणेशमान सिंह मार्ग नामकरण भएको चित्लाङ–चन्द्रागिरि–थानकोट सडक अन्तर्गत याकाखुसीदेखि ठुलोचौर सडकखण्ड कालोपत्रे गर्ने क्रममा हिजाे बिहीबारदेखि एक साताका लागि बन्द भएको हो ।

थाहा नगरपालिका–९ को कार्यालयले गणेशमान सिंह मार्गको याकाखुसीदेखि ठुलोचौरसम्मको सडकखण्ड कालोपत्रे हुने भएकाले एक हप्तासम्मका लागि उक्त सडकमा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधनका लागि बन्द रहने जनाएको छ ।

यस्तै सडक सरोकार समितिका सदस्य रामशरण नेपालले थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको चित्लाङतर्फ करिब दुई किमी खण्डमा कालोपत्रे गर्ने गरी तयारी भएको जानकारी दिए । उनले अत्यावश्यक र बिरामी बोकेका सवारीसाधनबाहेक अन्य सवारीसाधन अर्को सूचना नभएसम्मका लागि बन्द रहने बताउँदै वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरे ।

यसैबिच जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दक्षिणकाली नगरपालिकाको खहरेदेखि फर्पिङ चोकसम्म सडक कालोपत्रे गर्ने कार्य मङ्गलबारदेखि सुरु भएको र आगामी असार १५ गतेसम्म चल्ने भएको वैकल्पिक सडक प्रयोग गर्न भनेको छ। कार्यालयले अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन टिप्पर, टाटासुमो, कार, जिपलगायतका सवारीसाधनलाई पूर्ण रूपमा बन्द गरिएकाले वैकल्पिक सडक गर्न आग्रह गरेको छ । गोरखापत्रबाट साभार