हेटौंडा । मकवानपुर र चितवनमा रहेका चमेरोको जीवन संकटमा परेको छ । राक्सिराङका चेपाङ तथा तामाङ समुदायले मारेर खाँदा चमेरोको जीवन संकटमा परेको हो । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ६ सिंलिगे, चितवनको सिद्धि, शक्तिखोर कोराक लगायतका क्षेत्रमा चमेरो मारेर खाँदा चमेरो संकटमा परेको छ ।
चितवनको भण्डारा र शक्तिखोर र मकवानपुरको लोथर बजारमा प्रति चमेरो एक सय रुपियाँमा विक्री हुने गरेको छ । मासुका लागि चमेरो मारिदा चमेरो संकटमा परेको हो । सो क्षेत्रमा लामो समयदेखि बस्दै आएका हजाराैका संख्याका चमेराहरु मासुका लागि विक्री हुँदा संकटमा परेका हुन् ।
डिभिजन वन कार्यालय, राप्ती मनहरी डिभिजन वन अधिकृत बिष्णु प्रसाद आचार्यले अज्ञानताका कारण चमेरोको सत्यानाश भएकोप्रति चिन्ता प्रकट गरेका छन । उनले चिउरीको पारागसेंचनको लागि अत्यन्त महत्वपूर्ण चमेरो मारेर खानाले चिउरीको प्रवर्धनमा अत्यन्त नकारात्मक असर परेको बताए । उनले सिद्धि, कोराक, शिलिंगेका चेपाङ समुदायले स्थानीय बजारमा चमेरो विक्री गर्दा अझ संकट थपिएको बताए । चमेरो शिकारलाई सबै मिलेर अन्त्य गर्नपर्छ, उनले भने–“चेतना फैलाउनुका साथैं कावाहीको दायरामा पनि ल्याउनुपर्छ ।”
अज्ञान्ता, अन्धविश्वास लगायतका कारणले चमेरो संकटमा पर्दै गएको छ, उनले भने– “चेपाङले सुरुवाती समयमा चमेरोलाई मासुको विकल्प बनाएपनि अहिले धेरै चेपाङ सक्षम भईसकेका छन ।” सुरुमा विकल्प थिएन, बाध्यता थियो तर अहिले शोख र स्वादका लागि चमेराको व्यापार भएको छ, उनले थपे– “यो चिन्ताको बिषय हो ।” डिभिजन वन अधिकृत आचार्यले चमेरोको संरक्षका लागि चेतना जगाउँनेदेखि सामुदायिक वनको कार्ययोजनामै समावेश गरेर यस्को संरक्षणका लागि पहल गर्नुपर्नेमा जोड दिए । उनले चमेरो मार्ने तथा विक्री वितरण गर्नेलाई जरिवाना सहित कार्वाहीको व्यवस्था गर्नुपर्ने बताए ।
चेपाङहरुले मासुका साथैं पाहुना घरमा आउँदा वा ससुराली जाँदा चमेरो उपहार दिने चलन समेत रहेकाले यो चमेरो संकटमा पर्दै गएको हो । चमेरो मासुको रुपमा विक्री वितरण गर्न थालेपछि संकट थपिएको छ ।
जैविक विविधताका लागि उपयोगी चमेरा उड्न सक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टो तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ । पृथ्वीको खाद्यचक्र, पारिस्थितिकीय प्रणाली र वातावरण सन्तुलनका लागि निकै महत्वपूर्ण मानिने स्तनधारी प्राणीमध्येका एक प्रजाति चमेरा लोपोन्मुख अवस्थामा पुगेकामा चमेरा संरक्षणकर्ता चिन्तित बन्न थालेका छन् ।
चमेराले कीराहरू खाएर बालीनाली जोगाउन सहयोग पुर्याउँछ । राति सक्रिय हुने चमेराले रातमा कीरा खान्छ र बालीनालीलाई नोक्सान हुनबाट जोगाउँछ । बालीनाली र वनस्पतिका लागि मात्र होइन मानवका लागि हानिकारक विषालु कीरा पनि चमेरोले खाइदिन्छ । यसैले चमेरा स्पेस कन्ट्रोल गर्ने प्राणीको रूपमा पनि चिनिन्छ ।


अनिल पराजुली 









प्रतिक्रिया दिनुहोस्