हेटौंडा । पछिल्लो समय मकवानपुरमा डेंगु सङ्क्रमण बढेको छ । वैशाखको २० गते बिहीवार सम्म मकवानपुरमा थप १६ जनामा डेंगु सङ्क्रमण पुष्टी भएको हो । यो सँगै मकवानपुरमा डेंगु सङ्क्रमितको संख्या ८ सय ६७ पुगेको हो ।
त्यस्तै चितवनमा १५ डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरुमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका अनुसार वैशाखमा प्रदेशका चितवन र मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेका हुन् । चालु आर्थिक वर्षको साउनदेखि वैशाख २० गते बिहीवारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार ४२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा भने डेंगु सङ्क्रमित शुन्य रहेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५०१ र सबैभन्दा कम रसुवामा २ जनामा डेंगु पुष्टि भएको थियो । तथ्याङ्क अनुसार चालुआवको हालसम्म काठमाडौंमा तीन हजार‚ चितवनमा एकहजार ७०९‚ ललितपुरमा एकहजार ४३८‚ मकवानपुरमा ८६७‚ भक्तपुरमा ४९४‚ काभ्रेपलाञ्चोकमा १६७ जनामा डेंगु पुष्टि भएको छ । त्यस्तै नुवाकोटमा ८१‚ दोलखामा ७९‚ रामेछापमा २७‚ सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा २३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्