हेटौँडा । हेटौँडा उपमहानगरपालिका–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहको ३५औँ वार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ ।

हेटौँडा–७ का वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता तथा समूहका अध्यक्ष प्रकाश कार्कीको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा समूहका अध्यक्ष प्रकाश कार्कीले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सरिता नेगीले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन्।

साधारणसभाका अवसरमा समूहका पूर्व अध्यक्षहरू जनार्दन पौडेल र रघु प्रसाद आचार्य, वन संरक्षणकर्ता देवकुमारी अर्याल, रामबहादुर पाख्रिन, ज्येष्ठ उपभोक्ता ज्ञानुदेवी आचार्य तथा विष्णुप्रसाद चौलागाईंलगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

समूह सचिव कृष्णप्रसाद घिमिरेका अनुसार ७१ दशमलव ३० हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वनमा २ सय ८६ घरधुरी आबद्ध रहेका छन् । न्यूरेनी चिसापानी सामुदायिक वनले वन संरक्षणतर्फ उल्लेखनीय योगदान पुर्‍याएबापत २०७३ सालमा सर्वमान्य गणेशमान सिंह वन संरक्षण तृतीय पुरस्कारसमेत प्राप्त गरेको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत राकेशप्रसाद चन्द्रबंशी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाईं, महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, सब–डिभिजन वन कार्यालय हेटौँडाका वन अधिकृत कच्चुराम पुडासैनी, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, सल्लाहकार जनार्दन पौडेल, रघु प्रसाद आचार्य, ज्ञानु क्षेत्री, उपभोक्तालगायतको उपस्थिति रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी