हेटौंडा । स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि मतदाता परिचय पत्र वितरण सुरु भएको छ । नयाँ मतदाताहरुका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार मतदाता परिचय पत्र वितरण गर्ने भएको हो । हेटौंडाको सिद्धार्थ मावि मतदान केन्द्र सहित अन्य मतदान केन्द्रमा पनि परिचयपत्र वितरण गरिएको हो ।

पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरुलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण सुरु गरेको हो । मकवानपुरमा आज सुरुको दिन मतदाता परिचय पत्र लिन आउनेहरुको सामान्य उपस्थिती देखिएको छ । आ–आफ्ना सक्कली नागरिकता लिएर मतदाता परिचय पत्र लिन सकिनेछ । आज लिन नभ्याउनेले भोलि पनि परिचय पत्र लिन पाउनेछन् । मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ ।

सिद्धार्थ मावि ग मतदान केन्द्रका मतदान अधिकृत अमर अधिकारीले निर्वाचनमा आचार संहिता र मौन अवधिमा पालना गर्नुपर्ने नियमबारे छलफल भएको बताएका छन । सर्वदलिय छलफलमा मतदाताले मतदान केन्द्रमा पालन गर्नुपर्ने नियमका बारेमा पनि छलफल भएको थियो । मतदाता परिचय पत्र आज र भोली सम्बन्धीत मतदान केन्द्रबाट वितरण गरिएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजे सम्म मतदाता परिचय पत्र वितरण गरिएको हो ।

मतदानका लागि मतदान स्थल निर्माण कार्य धमाधम भईरहेको उनले बताए । मतदान गर्न आउँदा मतदाता परिचय पत्र भएकाले लिएर आउन र नभएका, हराएकाले नागरिकताको प्रमाणपत्र लिएर मतदानमा आउन उनले आग्रह गरे ।

त्यस्तै सिद्धार्थ मावि मतदान स्थल ख मतदान केन्द्रका मतदान अधिकृत गंगाधर रिमालले मतदान केन्द्रमा सबै कर्मचारी आइसकेको बताएका छन । उनले मतदाता पत्र छुटेका, नयाँ र हराएर निवेदन दिएकाकोले आज र भोली लिन सक्ने बताए । मतदाता नामावलीमा नाम भएका आउन नसक्नेले प्रष्ट परिचय खोलिने कागजात सहित आएर मतदाता परिचयपत्र लिन सक्ने बताए ।

सिद्धार्थ मतदान केन्द्रमा क, ख, ग र घ मतदान केन्द्र राखिएको छ । मकवानपुरमा रहेका एकसय ६५ वटा मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण भईरहेको छ ।