हेटौंडा । राप्ती खोला किनारमा घर भएका कुमारबहादुर बोटेले जीवनको बालपन, ऊर्जाशील जवानी र बयस्कपन राप्ती खोलामा माछा मारेरै बिताए। मकवानपुरको मनहरी गाउँपलिका–७ स्थित रमौली/प्रतापुरमा बस्दै आएका उनीजस्ता दर्जनौं अति सिमान्तकृत बोटेको माछा मार्ने पुख्र्यौली पेसा लोप हुने अवस्थामा पुगेको छ।
माछा मार्ने उनीहरूको पुख्र्यौली पेसामा सरकारले अंकुश लगाएको छ। पर्सा राष्ट्रिय निकुञ्जले माछा मार्न लाइसेन्स बाँडेको छ। तर, कुमारले लाइसेन्स पाएका छैनन्। बिहान उठ्नेबित्तिकै जाल सिलाउँछन्, सूर्यको झुल्कोसँगै कम्मरमा फुर्लुङ, काँधमा जाल बोकेर माछासँग लुकामारी गर्न उनी खोला छिर्छन्। तर, लाइसेन्स नभएकाले पछिल्लो समय निकुञ्जको सुरक्षामा खटिएका सेनाले कुमारलाई पटक–पटक पक्राउ गरेको छ।
रमौली प्रतापुरमा बस्दै आएका ३२ जना बोटेलाई निकुञ्जले माछा मार्ने लाइसेन्स दिएको छ। अझै दुईदर्जन बढिले लाइसेन्स पाएका छैनन्। खोलामा विष हाल्ने क्रम बढेपछि माछा पाउन छाडेको छ। निकुञ्जले कडाइ गर्न थालेपछि यहाँका प्रायः युवा रोजगारीको खोजीमा पलायन भएको बोटे अगुवा दिलबहादुर बोटेले गुनासो गरे। यहाँका बोटेहरूलाई जेठ, असार, साउन र भदौ महिनामा निकुञ्जले खोलामा माछा मार्न र बालुवा चाल्न रोक लगाएको छ। अन्य समयमा पनि निकुञ्जले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्ममात्र बोटेहरूलाई खोलामा माछा मार्न अनुमति दिएको दिलबहादुरले बताए। माछा र खोलसँग मात्र साइनो गाँसेका उनीहरू पेसा नै संकटमा पर्दै गएपछि थप चिन्तित छन्।
प्लास्टिकको सामानले चेपाङको पेसा संकटमा
चेपाङ जातिले परापूर्व कालदेखि बनाउँदै आएका सामग्रीको उत्पादनमा कमी आएको छ। आयस्रोतका लागि बनाउने डोको, नाम्लो, डालोले बजार नपाउँदा उत्पादनमा चासो दिन छोडेका हुन्। अति सिमान्तकृत चेपाङ जातिले डोको नाम्लो बिक्री गरेर चामलसँग साट्थे। तर, पछिल्लो समयमा उनीहरूको हस्तकला उत्पादन कम हुँदै गएको छ। बिक्री कम हुनथालेपछि युवा पुस्ताको आकर्षण परम्परागत पेसामा छैन।
चितवन, मकवानपुर, धादिङ, गोरखालगायत जिल्लाको पहाडी भेगमा बस्ने चेपाङ समुदायले बाँस र निगालोको चोयाबाट डोको, थुम्से, डालोलगायत सामग्री बनाउँथे। त्यस्तै मान्द्रो, नाम्लो, नाङ्लो, जाबी (झोला) बनाउने उनीहरूको सीप हो। आधुनिकतासँगै आएका उत्पादनले परम्परागत पेसा संकटमा परेको चितवनको यौरालीटारस्थित गणेश माविका प्रधानाध्यापक रामकृष्ण प्रजाले बताए। प्लास्टिकजन्य उत्पादनले चेपाङको सिप नै खतरामा परेको उनको भनाइ छ।
माझी समुदायको पेसा लोप हुँदै
रामेछापको सुनकोसी र तामाकोसी नदी किनारमा बस्दै आएका अति सीमान्तकृत माझी समुदायको मौलिक पेसा लोप हुँदै गएको छ। कोसीमा डुंगा चलाउने र माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय पेसा नै लोप हुँदै गएको हो। कोसी र माझीबीच मामा र भान्जाको सम्बन्ध रहेको किंवदन्ती छ।
कोसीलाई नै आफ्नो आम्दानीको माध्यम बनाएका माझी समुदाय पेसा लोप हुँदै गएपछि गुजारा चलाउनसमेत गाह्रो भएको मन्थली नगरपालिका–६ भलुवाजोरका डुंगा व्यवसायी शुक्रवीर माझीले बताए। उनले डुंगा चलाउने र माछा मार्ने काम गरेर मासिक करिब ५० हजार आम्दानी गर्थे। छोराछोरीको पढाइ र घर खर्च डुंगा व्यवसायबाट नै पुर्याएका थिए।
रामेछाप जिल्ला भरी २९ वटा घाटमा डुंगा सञ्चाल हुँदै आएको भए पनि सेलेकाटमा १२ वर्षदेखि र अन्य घाटमा बिगत पाँच वर्षदेखि डुंगा सञ्चालन बन्द रहेको छ। डुंगा व्यवसाय सञ्चालन गर्दै आएका दर्जनौं माझी बेरोजगार जस्तै भएका छन्। यस्तै दोलखाका जिरेल, सुरेल र थामी समुदायले भने आफ्नो मौलिक पेसा कृषि र डकर्मी कामलाई निरन्तरता दिइरहेका छन्।
तामाङको पेसा लोप
तामाङहरूको मौलिक पेसा बिगतमा चर्खाबाट धागो बनाउने थियो। उक्त पेसा लोप भएको छ। चर्खाबाट धागो बनाएर खाँडीको कपडा बानाउने र बेच्ने गर्दै आएका थिए। हाललाई चर्खा र खाँडीको कपडा लोप भएपछि तामाङको मौलिक पेसा लोप भएको छ। बिस्तारै चर्खाबाट धागो बनाउने काम लोप भएसँगै केही समय अघिसम्म तामाङ समुदाय गलैंचा बुन्ने पेसामा रहेको थियो। नेपाली गलैंचा बजार अभावको कारण गलैंचा बुन्ने कामसमेत कम भएको छ। अन्नपूर्ण पोष्टबाट












प्रतिक्रिया दिनुहोस्