हेटौंडा । कैलाश गाउँपालिकामा तीन दिने किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालिम भएको छ ।
असोज १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको तालिममा पालिका भित्रका ४८ वटा विद्यालयबाट एक÷एक जना शिक्षकको सहभागिता रहेको थियो । तालिममा विद्यालय उमेरका बालबालिकाहरुको सुरक्षा र आत्मरक्षा सीप विकाससम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण दिइएको स्रोत शिक्षक ध्रुवराज विष्टले जानकारी दिए ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले यस किसिमको तालिमले विद्यालय उमेरका वालवालिकाहरुलाई सुरक्षित हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे । वार्षिक स्वीकृत कार्यक्रमअनुसार तालिम आयोजना गरिएको उनले बताए । तालिममा सहभागि शिक्षकहरुले आफ्नो विद्यालयमा गई कम्तिमा ६ महिनाको कार्यतालिका बनाएर बालबालिकाहरुलाई सिकाउनु पर्ने व्यवस्था गरिएको उनले बताए ।
तालिमका प्रमुख प्रशिक्षक तथा किड पावर इन्टरनेशनल नेपालका प्रतिनिधि सुष्मा पोखरेलले विद्यालयका वालवालिकालाई तालिममले आत्मविश्वास वृद्धि गर्ने बताइन् । उनले हरेक ब्यक्तिलाई सुरक्षा तथा आत्मरक्षा सीप आवश्यक रहेको बताइन् ।
तीन दिनसम्म चलेको तालिम कैलाश गाउँपालिका महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाको संयोजन र किड पावर नेपालको सहजिकरणमा भएको थियोे ।
प्रतिक्रिया दिनुहोस्