हेटाैँडा । मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध गाँजा र गाँजाको धुलोसहित चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेका अनुसार सोमबार हेटौँडा र भीमफेदीबाट दुईवटा मोटरसाइकलमा सवार चारजनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका– १३ का २१ वर्षीय जोसु तामाङ र हेटौँडा–१४ का २३ वर्षीय अमन तामाङ रहेका छन्। उनीहरुको साथबाट ९२० ग्राम गाँजाको धुलो फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुलाई हेटौँडा–९ कुखरेनीबाट बागमती प्रदेश ०२–०५० प ६१३२ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

यस्तै प्रहरीले भीमफेदी गाउँपालिका–१ टौबास कोलनीबाट पनि दुई जनालाई गाँजासहित पक्राउ गरेको छ। बागमती प्रदेश ०२–०५७ प ०७६३ नम्बरको मोटरसाइकलमा सवार धादिङको गजुरी गाउँपालिका–८ का २१ वर्षीय अमिर तामाङ र सोही स्थानका १९ वर्षीय समर बलको साथबाट तीन किलो २१० ग्राम गाँजा बरामद गरेको प्रवक्ता काफ्लेले जानकारी दिए।

दुवै घटनामा बरामद भएको गाँजासहित चारैजनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा थप अनुसन्धान अगाडी बढाएको प्रवक्ता काफ्लेले बताए।