हेटौँडा । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा सहप्राध्यापक डा. इन्दिरा अधिकारी पौडेल नियुक्त भएकी छिन् । प्रतिष्ठानमा कार्यरत नर्सिङ विभाग प्रमुख रहेकी डा. पौडेललाई प्रतिष्ठान ऐन, २०७६ अनुसार आन्तरिक बढुवामार्फत दफा २१ बमोजिम डिनमा नियुक्त गरिएको हो ।

नियुक्तिसँगै डा. पौडेलले अब प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक नेतृत्व सम्हाल्नेछिन् । त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गरेकी उनी मातृ तथा बाल स्वास्थ्यका विशेषज्ञ हुन् ।

विगत दुई दशकदेखि नर्सिङ सेवामा सक्रिय रहेकी डा. पौडेलले करिब १७ वर्ष शैक्षिक क्षेत्रमा योगदान दिएकी छिन् । उनी विगत तीन वर्षदेखि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिङ विभाग प्रमुखका रूपमा कार्यरत थिइन् । सो क्रममा उनले स्नातक तथा स्नातकोत्तर तहका नर्सिङ कार्यक्रमहरूका पाठ्यक्रम विकास र शैक्षिक नेतृत्वमा उल्लेखनीय भूमिका खेलेकी थिइन् ।

डा. पौडेल यसअघि मनमोहन इन्स्टिच्युट अफ मेडिकल साइन्सेस र चितवन मेडिकल कलेजमा पनि अध्यापन र नर्सिङ शिक्षा विकासका क्षेत्रमा कार्यरत थिइन् ।