हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१७ का देवराज अधिकारीको घरबाट सुनका गरगहना चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीको घरबाट गत साउन २३ गते सुनको गरगहना चोरीमा संलग्न भएको आरोपमा हेटौंडा –४ का वर्ष २२ का राजु मानन्धर, वर्ष २८ का मिलन मोक्तान र मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.४ का वर्ष ३३ का देव श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सुरुमा मानन्धर र श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुर बाट म्याद थप गरी थप अनुसन्धान कार्य गर्दै जाने क्रममा मोक्तानसमेत उक्त चोरी घटनामा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको थियो ।

प्रहरीले सोही दिन नै हेटौँडा–१७ का दीपक पौडेलको घरबाट टीभी चोरी भएको जनाएको छ । चोरी गरेको सुनको गर गहना मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ स्थित सुनाचुरी जङ्गलमा जमिनमुनि गाडी लुकाइराखेको अवस्थामा फेला परेको थियो ।