काठमाडौँ । ट्रेड टावर लिमिटेडले ११ करोड ५८ लाख ९८ हजार रुपियाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

उक्त रकम बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता आईपीओ निष्काशन गर्न कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा ट्रेड टावरका कार्यकारी अध्यक्ष शिवहरी दंगाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

२०६७ सालमा स्थापना भएको कम्पनीले होटेल, आतिथ्य सेवा, आवास र बित्त, निर्माण तथा अन्य लगानीको क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले थापाथलीमा ट्रेड टावर र भैसेपाटीमा जनता आवास निर्माण सम्पन्न गरिसकेको छ ।

गौशालामा अर्को ट्रेड टावर निर्माण गरिरहेको छ, जुन अबको ३० महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।