हेटौंडा । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।

लगानीकर्ताहरूले नाफा बुक गर्दा बजारमा सामान्य करेक्सन आएको लगानीकर्ताहरुको भनाइ छ । चुनावको मिति तोकिने कुराले बजारमा ठूला लगानीकर्ताहरू पनि प्रवेश गरिसकेका छन् । बजार अझै पनि बुलिस ट्रेन्डमै छ । त्यसैले अहिलेको यो गिरावट भनेको प्रोफिट बुक हुँदा देखिएको सामान्य करेक्सन मात्रै भएको जानकारहरुको भनाइ छ ।

घट्नु र बढ्नु सेयर बजारको सामान्य गति हो । सेयर बजार आफ्नै गतिमा चलिरहन्छ । लगानीकर्ताहरूले राम्रो कम्पनी छनोट गरी लगानी गर्नुपर्छ । साताको पहिलो दिन आइतबार बढेको बजार सोमबार घटेको थियो भने मंगलबार पुनः बढेको थियो । बुधबार हिजो भने सोनाम लोच्छारका कारण बन्द भएको बजार आज अन्तिम दिन पुनः घटेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.६० अंकले घटेर २८७६.७४ विन्दुमा पुगेको छ । नेप्से ०.५० प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.२५ अंकले घटेर ५३९.६५ विन्दुमा झरेको छ ।

कूल २२४ वटा कम्पनीको एक करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार एक सय ६२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ । हाइड्रोपावर र नन लाइफ इन्स्योरेन्स बढेको हो ।
त्यसैगरी, बिहीबार कारोबारमा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अब्बल छ । कम्पनीको ८२ करोड ७० लाख ३५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ९ सय ५९ रूपैयाँ २० पैसा पुगेको छ । सर्वाधिक मूल्य बढ्ने अन्य कम्पनीहरूमा क्रमश ः बुद्धभूमी नेपाल हाइड्रोपावर, साहास उर्जा, अरूण भ्याली हाइड्रोपावर, मैलुङ खोला जलविद्युत, न्यादी हाइड्रोपावर, तेह्रथुम पावर, सिनर्जी पावर, सामुदायिक लघुवित्त र सिइडिबी हाइड्रोपावर रहेका छन् ।
यस दिन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक सेयरको मूल्य ३.५५ प्रतिशतले घटेर ४ सय ५१ रूपैयाँ ४० पैसा कायम भएको छ ।

यस्तो रह्यो यो साता
साताको पहिलो दिन आइतबार १०५ अंकले बजार बढ्दा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८.५७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

त्यसैगरी सोमबार १४.४८ अंकले बजार घट्दा ५ अर्ब १५ करोड ४१ लख ७७ हजार ५ सय ९८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार १९.२९ अंकले बजार बढ्दा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

साताको अन्तिम दिन आज बिहीबार भने बजार पुनः ओरालो लागेको छ । आज १४.६० अंकले बजार घट्दा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १ सय ६२ रुपियाँ बराबरको कारोबार भएको हो ।