काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो ।

छनोट समितिले यस अघि तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरेर मन्त्रिपरिषद्‍मा पठाएको थियो । यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । पाँचमध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो ।

पाल्पा स्थायी घर भएका कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइका प्रमुख छन् । सीईओ नियुक्त भएपछि उनले अब आयोजनाबाट राजीनामा दिने बताएका छन् ।

नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले राजीनामा दिएको लामो समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।