काठमाडौँ । लामो समय पछि अघिल्लो दिन झिनो सुधार देखिएको शेयर बजार आज पुनः घटेको छ । फागुन ११ गते बुधबारदेखि निरन्तर घटिरहेको बजारमा सोमबार १.५४ अंकको सुधार देखिएको थियो । तर आज पुनः बजार ३०.२९ अंकले ओरालो झरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १.१९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५१४.६५ अंकमा ओर्लिएको छ ।

आज २२९ कम्पनीका ४९ लाख ५९ हजार ९ सय १९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार घटेको दिन सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १९८.५३ अंकले घटेको हो । बजार घटेको दिन नेप्सेमा सूचीकृत कम्पनी मध्ये २९ वटाको शेयर मूल्य बढेको छ । आज सबैभन्दा बढी माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर मूल्य ८.१० प्रतिशतले बढेको हो । बिशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा बढी ५.७८ प्रतिशतले घाटा ब्यहोरेका छन् ।

नेप्सेका अनुसार नेपाल दूरसञ्चार कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ५२ लाख २१ ह्जार ५ सय ९९.५० रुपियाँ बराबरको शेयर किनबेच भएको हो । त्यस्तै टप फाइभ कारोबार भएका कम्पनीहरुमा एनआईसी एशिया बैंक, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रो र हिमालयन डिस्टिलरी छन् ।